नाकाबन्दीपछि रोकिएको काठमाडौं–सुर्खेत सिधा हवाई सेवा फेरि सुचारु हुने

Advertisement

काठमान्डौंः भारतले गरेको अघोषित नाकाबन्दीपछि रोकिएको काठमाडौं–सुर्खेत सिधा हवाई उडान दुई हप्ताभित्र सुचारु हुने भएको छ । करिव एक घण्टा उडान भर्नुपर्ने सुर्खेतमा केही समय नियमित उडान भए पनि नाकाबन्दीपछि बन्द भएको थियो ।

पर्यटन मन्त्रालयमा बुधबार पर्यटन मन्त्री रविन्द्र अधिकारी, कर्णाली प्रदेशका पर्यटनमन्त्रीसँगको छलफलपछि हवाई सेवा प्रदायकहरु उडान सुचारु गर्न तयार भएका हुन । सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्ने सरकारी पक्षको प्रतिवद्धतापछि व्यवसायीहरुले सिधा उडान गर्ने प्रतिवद्धता जनाएका हुन ।

तत्काल उडान सुचारु गर्ने र उडानसम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने मन्त्री अधिकारीले बताए । उनले एयरलाइन्स कम्पनीहरुले सेवासहितको व्यापार गर्नुपर्ने बताए ।

कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढाले सुर्खेत प्रदेश राजधानी भएकोले हरेक गतिबिधि बढेसँगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने बताए । केही समय उडानमा घाटा भए उक्त समयलाई विशेष सहयोग गर्न केन्द्र सरकारसँगै प्रदेश सरकार तयार रहेकोले हवाई सेवा प्रदायकसँग उडान संचालन गर्न मन्त्री बुढाले अनुरोध गरे।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्णप्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यविधि आवश्यकताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउँदा दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए ।

छलफलमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एयलाइन्स, बुद्ध एयर, तारा एयर, सिता एयर सिम्रिक एयरसहितका विमान सेवा प्रदायकहरुका प्रतिनिधिहरु सहभागी थिए । आउँदो बैसाख १ गतेबाट हुने रारा कर्णाली महोत्सवलाई उडान सेवा सुचारु हुँदा थप सहयोग पुग्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement