डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो, यसरी भयो शक्तिको दुरुपयोग

Advertisement

काठमाडौँ: राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ । एनसिसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रूपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरूले देखाएका छन् ।

यस घोटालासँग जोडिएर राष्ट्र बैंकले दुईवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रस्ट देखाएको छ ।

रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । टेम्पो व्यवसायबाट उन्नति गरेका धिताल कांग्रेस लमजुङका क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि थिए । यो राजनीतिक प्रभाव उनले उन्नतिमा होइन, आफ्नै बैंकको दुर्गतिमा प्रयोग गरे ।

एपेक्स डेभलपमेन्ट बैंकको दरबारमार्ग, लोकन्थली र इटहरी शाखाबाट नक्कली ऋणी खडा गरेर, कमसल धितो राखेर, सम्पत्तिको नक्कली कागज बनाएर तथा मूल्यांकनसमेत नगरी कर्जा प्रवाह थालियो । एपेक्सका दरबारमार्ग र लोकन्थली शाखाले प्रवाह गरेको ऋणमध्ये ८०% र इटहरी शाखाको ७०% ऋण खराब कर्जा भएको राष्ट्र बैंकको प्रतिवेदनले नै देखाउँछ । यसरी एपेक्सको प्रणालीबाट अस्वाभाविक रूपमा दुई अर्ब ऋण प्रवाह भएको थियो ।

Advertisement

Advertisement

Advertisement