भरतपुर महानगरपालिकाको करमा भारी वृद्धि, उद्योगी व्यवसायीको विरोध

Advertisement

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिकाले सर्वसाधारणले तिर्ने कर तथा सेवा दस्तुरमा भारी वृद्धि गरेको छ । पाँच देखि २ हजार प्रतिशतले करको दर बढाएपछि स्थानीय, उद्योगी, व्यवसायी त्यसको विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

महानगरले सेवा शुल्क दस्तुर, एकीकृत सम्पत्ति कर, व्यवसाय कर, कवाडी, जीवजन्तु कर, विज्ञापन कर, मनोरन्जन करलगायतमा भारी वृद्धि गरेको हो ।

उसले गत पुस २४ गतेको नगरसभाबाट आर्थिक ऐन पारित गरेर नयाँ करको दर निर्धारण गरेको हो ।

विगतमा १० रुपियाँमा हुने निवेदन दस्तुरको सेवा शुल्क २५ रुपियाँ, २५ रुपियाँमा हुने नाता प्रमाणितको १ सय रुपियाँ, अंग्रेजीमा गरिने सिफारिसको ४ सय ९० बाट ५ सय ७५ रुपियाँ कायम गरिएको छ ।

यस्तै, पारिवारिक विवरण, बसोबास विवरण, नाबालक सिफारिस, जन्ममिति प्रमाणित, व्यक्तिगत प्रमाणित, चारित्रिक प्रमाणित, खानेपानी जडान, नामसारी, ठाउँसारी जस्ता शीर्षकमा विगतमा १ सय ९० रुपियाँ दस्तुर तिरेर हुँदै आएकोमा अबदेखि ५ सय ७५ रुपियाँ लाग्ने भएको छ ।

त्यसैगरी, व्यवसाय करमा पनि भारी वृद्धि गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनले वस्तुगत संघबीच छलफल गरेर बढेको करको दायराबारे राय संकलन अभियान नै चलाएको छ । “उद्योगी, व्यवसायी धेरै मारमा परेका छौं”, संघका अध्यक्ष सहनलाल प्रधानले भने, “८ गतेसम्म सबै वस्तुगत संघको राय लिनेछौं, लगत्तै करको दर पुनर्विचार गर्न महानगरको ध्यानाकर्षण गराउनेछौं ।”

यता भरतपुर महानगरपालिकाले भने आन्तरिक स्रोत बढाएर विकास निर्माणलाई गति दिन करको दर बढाइएको दाबी गरेको छ । सर्वपक्षीय छलफल र रायकै आधारमा कर निर्धारण भएको महानगरको उसको जिकिर छ ।

महानगरपालिका राजस्व शाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार आन्तरिक स्रोत बढाउनका लागि करको दर बढाउनु परेको हो ।

Advertisement

Advertisement

Advertisement