भूकम्प पीडितको आवास अनुदानका लागि थप दश अर्ब

Advertisement

काठमाडौंः अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बिहीबार नौ अर्ब ९५ करोड रुपियाँ प्रदान गरेको छ । प्राधिकरणले निजी आवास अनुदानका लागि प्राप्त गरेको सो रकम सामान्य प्रशासन मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई खर्च गर्न अख्तियारी प्रदान गरेको छ ।

घर निर्माण शुरु गरेका भूकम्पपीडितलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले सो अख्तियारी प्रदान गरेको जनाएको छ । सरकारले भूकम्पपछिको निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर प्राधिकरणमार्फत थप बजेटको अख्तियारी दिएको हो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिइएको बताए ।

सबै जिल्लामा निजी आवास निर्माण तीव्र गतिमा भइरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई गति दिन प्रयास गरिरहेको उनले जानकारी दिए ।

समयसीमा नै निर्धारण गरेर लाभग्राहीलाई दोस्रो र तेस्रो किस्ता लिन आग्रह गरेको प्राधिकरण किस्ताबापतको रकम अभाव नहोस् भन्नेमा चनाखो छ । पछिल्ला महिनाहरुमा भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास पुनर्निर्माणको क्रम तीव्र छ । बिहीबार साँझसम्मको तथ्यांकअनुसार तीन लाख ६७ हजार १६५ घर पुनर्निर्माण भइरहेका जनाइएको छ ।

त्यस्तै, तीन लाख ११ हजार ७०३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । उनीहरुले आफ्नो सुविधाअनुसार तोकिएको बैंकबाट दोस्रो किस्ता बापतको रु एक लाख ५० हजार लिन सक्ने बताइएको छ ।

तेस्रो किस्ताका लागि ८२ हजार ५८८ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । तेस्रो किस्ताबापत लाभग्राहीले रु एक लाख प्राप्त गर्नेछन् ।

प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तसम्मलाई तोकी घर पुनर्निर्माण शुरु गर्न बाँकी रहेको लाभग्राहीलाई यही अवधिभित्र घरको जग राखी दोस्रो किस्ताका लागि निवदेन दिन आग्रह गरेको छ ।

प्राधिकरणले नेपालभित्र कुनै पनि स्थानमा बस्न योग्य घर भएका वा समय सीमाभित्र घर बनाउन नचाहने भूकम्प प्रभावितले पहिलो किस्ताबापत रकम लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । यसका लागि जिल्ला समन्वय समितिको कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचना नै जारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement