गर्भनर हटाउन चलखेल सुरु, एपेक्स हतियार

Advertisement

काठमाडौंः महत्वपूर्ण निकाय र क्षेत्रमा आफना अनुकुलको मानिस र अनुकुलको नीति नियम बनाउँदै गएको वामपन्थी सरकारले वित्तीय क्षेत्रको नियमक निकाय नेपाल राष्ट्र बैंकमा पनि आफ्नो अनुकुलको मानिस ल्याउन प्रक्रिया अघि बढाएको छ ।

जसअन्तर्गत राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई हटाउन तत्कालिन एपेक्स डेभलपेन्ट बैंकलाई हतियार बनाइएको छ । गर्भनरलाई विना कारण सोझै हटाउन सहज नभएपछि एपेक्स डेभलपमेन्ट बैंकमा भएको भनिएको अनियमिततामा गर्भनरलाई जोडेर हटाउने प्रक्रिया अघि बढेको हो ।

काँग्रेससँग निकट रहेका र काँग्रेस नेतृत्वको सरकारले नै नियुक्त गरेका गभर्नर नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकको अनियमिततामा संलग्न रहेको र उक्त बैंकको उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोप लगाउँदै हट्ने वा हटाउने खेल सुरु भएको छ ।

पाँच वर्षका लागि नियुक्त भएका गभर्नरको बल्ल दुई बर्ष कार्यकाल पूरा भएको छ । वित्तीय क्षेत्रको नियमन, नीति निर्माण गर्ने संस्थाको नेतृत्व गरिरहेका गर्भनर नेपाललाई बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याउन सहयोग गरेको सिद्ध गरेर हटाउन लागिएको हो ।

हालै पक्राउ गरिएका एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णु धिताल र गभर्नर नेपाल दुवै काँग्रेस समर्थक भएको र दुवैबीच चिनाजान पनि रहेकोले सोही सम्वन्धसँग जोडेर एपेक्स बैंकको प्रकरणसँग गर्भनर नेपाललाई पनि तान्ने प्रक्रिया अघि बढेको स्रोतको भनाई छ ।

एनसीसी बैंकुसँग एपेक्स बैंक मर्जर हुने प्रक्रिया चिरञ्जीवी नेपाल राष्ट्र बैंकमा आउनुअघि नै सुरु भएको हो । सोही प्रक्रियाअन्तर्गत एपेक्ससहित चार बैंक वित्तीय संस्था २०७२ मंसिर ११ गते एनसीसी बैंकमा गाभिएका थिए । मर्ज भएका ती सबै संस्थाले बनाएको कमिटिले डीडीए गरी राष्ट्र्र बैंकका विभिन्न पदाधिकारीहरुले समेत त्यसलाई हेरेर मर्जरको स्वीकृति दिएका थिए ।

पछिल्लो समयमा एनसीसी बैंकभित्रबाटै एपेक्स डेभलपमेन्ट बैंकको ऋण प्रवाहमा अनियमितता भएको भन्दै राष्ट्र बैंकमा उजुरी हालिएपछि राष्ट्र बैंकले आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र लेखेको थियो । उत्त प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन ।

कमसल धितोका आधारमा डेढ अर्बबढि ऋण प्रवाह गरिएको भन्दै धितालसहित उनीहरुलाई पक्राउ गरिएको हो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गर्भनर नियुक्त गरेलगत्तै चिरञ्जीवीलाई हटाउन राष्ट्र बैंकका एमाले समर्थक कर्मचारीहरुले आन्दोलनमै उत्रिएका थिए ।

त्यतिबेला उनलाई हटाउन संभव नभएपछि अहिले नयाँ प्रक्रियाबाट हटाउने प्रयास अघि बढाइएको स्रोतको भनाई छ । नेपाललाई हटाउन डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी लागिपरेका छन । शिवाकोटी एमाले समर्थक र प्रधानमन्त्री केपी ओलीका विश्वास पात्रका रुपमा चिनिन्छन ।

Advertisement

Advertisement

Advertisement