कतै लोडसेडिङ नगरिएको जिकिर, प्राविधिक कारणले झ्याप्प बत्ति जाँदैमा लोडसेडिङ नबुझौं– घिसिङ

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर कतै पनि घोषित अघोषित लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्था समेत नरहेको जिकिर गरेको छ ।

एसइइ परीक्षा चलिरहेको बेला प्राधिकरणले मुलुकका विभिन्न ठाउँमा विद्युत कटौती गरेको समाचारहरु आएपछि प्राधिकरणले त्यस्तो जिकिर गरेको हो । उर्जामन्त्री बर्षमान पुनले एसइइ परीक्षाभर लोडसेडिङ नगर्न प्राधिकरणलाई निर्देशन पनि दिएका थिए ।

औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दावी गर्छन, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केही बेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’

सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको जनाइएको छ ।

सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपासमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्छ भन्दै घिसिङले यस्ता समस्या तत्काल समाधान गर्न निर्देशन दिइसकेको बताएका छन ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताएका छन ।

Advertisement

Advertisement

Advertisement