‘त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्छु, अध्यागमनमा हुने भ्रष्टाचार निर्मुल पार्छु’

Advertisement

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गराउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लबमा आइतबार बोल्दै उनले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताएका हुन् । अन्तर्राष्ट्रिय हवाई सेवाहरुले पनि यस विमानस्थललाई चौबिसै घण्टा चलाउन आग्रह गर्दै आएका थिए ।

मन्त्री अधिकारीले भने, “सिङ्गल रनवे भए पनि २४ घण्टा सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छ । भारतको बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?”

मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । अधिकारीले भने, “काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” मन्त्री अधिकारीले अध्यागमन विभागमा हुने भ्रष्टाचार निर्मुल पार्ने पनि बताए ।

नेपालको हवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिँदै मन्त्री अधिकारीले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा सञ्चालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिँदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र सञ्चालनमा आउने उनले बताए ।

पत्रकारहरुको अगाडि अधिकारीले भने, “रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ । पर्यटक आगमन बढ्छ ।”

आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए । हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिँदै अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

उनले भने, “आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।” पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै अधिकारीले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल गार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement