तीनै तहमा एक लाख सात हजारभन्दा बढि कर्मचारी आवश्यक

Advertisement

काठमाडौंः सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख सात हजार छ सय ६५ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित दरबन्दी तयार पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल एक लाख सात हजार छ सय ६५ कर्मचारी आवश्यक रहेको भन्दै दरबन्दीको प्रारूप तयार पारेको हो।

सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको दरबन्दीअनुसार अब केन्द्र सरकार र त्यसअन्तर्गतका कार्यालयमा ३६ हजार आठ सय ४५ कर्मचारी रहनेछन्। प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार चार सय २८ कर्मचारी हुनेछन्।

स्थानीय तहमा ५४ हजार तीन सय ९२ कर्मचारी आवश्यक पर्नेगरी दरबन्दी तयार पारिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

सरकारद्वारा हालै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने संगठन संरचना र दरबन्दीको निर्क्योल गर्न सामान्य प्रशासन सचिवको संयोजकत्वमा गठित व्यवस्थापन तथा सर्वेक्षण समितिले समेत तीनै तहको संगठन संरचना र दरबन्दी निर्धारण गर्दा यसैलाई आधार मान्ने भएको छ। हाल निजामती क्षेत्रका ८६ हजार र स्थानीय तहका गरी एक लाख चार हजार कर्मचारी रहेको समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

Advertisement

Advertisement

Advertisement