'अहिले हामीलाई छिमेकीको सहयोग चाहिएको छ, सक्षम भएपछि हामी पनि गछौं'

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक मामिलामा कसैले हात हाले सैह्य नहुने बताएका छन । अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–चाइना रिलेसन्स्ः न्यू एभिन्यूज एण्ड पोसिबिलिटिज्’ राजधानीमा सोमबार लोकार्पण गर्दै प्रधानमन्त्रीले दुवै छिमेकीसँग नेपालले अशल सम्वन्ध राख्ने तर हस्तक्षेप सैह्य नहुने बताए ।

उनले नेपालले सबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको पनि बताए । ओलीले मित्रता असमान हुँदैन र असन्तुलित पनि । असमान व्यवहार गरेर मित्रता हुँदैन भन्दै विकासका लागि छिमेकीहरुबाट सहयोग चाहिए पनि भीख मागेजस्तो नमाग्ने बताए ।

उनले संविधान जारी गर्दा ताका भारतले देखाएको केही असन्तुष्टि देखाए पनि अब त्यो विषय सकिसकेको तर्क गरे । ओली भन्छन्, ‘संविधानअन्तर्गत चुनाव नै भएर नयाँ सरकार बनेपछि अब त्यो विषय नै रहेन ।’ भारतसँगको सम्बन्ध अझै प्रगाढ बनाउन केही समयभित्रै आफू दिल्ली जाने उनले बताए ।

प्रधानमन्त्री ओलीले चीनले नेपालको सार्वभौमसत्ता र अखण्डता र आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीति लिने खुला धारणा राखेको भन्दै भारतको पनि त्यो खालको नीति लिनुपर्ने संकेत गरे । उनले कसैले ‘अति निकटता’ देखाउँदा शंका पनि गर्नुपर्छ भन्दै पछिल्लो समयमा भारतीय बढ्दो चासोप्रति आशंका जनाए । वामपन्थीहरुले चुनाव जितेपछि र ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन पटक फोन गरिसकेका छन् ।

ओलीले भने, ‘कसैले धेरै चाट्छ भने छाला नै लैजान सक्छ, गैंडा भएको मुलुकका नागरिक हौं, कतिसम्म चाटेको हो भन्ने थाहा पाउँछौं ।’ तर नेपालको विकासका लागि छिमेकीको सहयोग जरुरी रहेको उनले बताए । ओलीले चीनले नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा रहेको र उसँग सामर्थ्य पनि रहेको भन्दै आफ्नो अवस्था सुधार भएपछि नेपालले पनि सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र नसहने भन्दै विकासबाहेक आफ्नो अर्को कुनै एजेन्डा नभएको बताए । उनले वामपन्थीको विजयलाई कांग्रेसले पचाउन नसकेको भन्दै विकासका लागि आफूलाई विपक्षीको साथ चाहिएको बताए ।

आफूहरुमा बहुमतको दम्भ नरहेको ओलीले बताए । उनले विपक्षी बुरुक्क उफ्रियो भने पनि म नमस्कार गर्छु भने । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीनबीचको सम्बन्ध नागरिक तहमै पुगेकाले विकासमा साझेदारी गर्नुपर्ने धारणा राखे ।

कांग्रेस नेतृ सुजाता कोइरालाले ओली सरकारले चीनसँग अघिल्लोपटक गरेका सम्झौता कार्यान्वयन गर्न सुझाव दिइन् । उनले सरकारले स्थायित्व र विकासका लागि काम गर्नुपर्ने बताइन् । चिनियाँ राजदूत यू होङले चीनको विकासबाट छिमेकी देशले पनि लाभ लिन सक्नुपर्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement