गर्मी बढेपछि लस्सीको व्यापार बढ्दै

Advertisement

काठमाडौंः ‘आहा ! कस्तो मिठो लस्सी !!’– इन्द्रचोकमा लस्सी पसलमा एक गिलास चिसो लस्सी पिउँदै गुरुप्रसाद भण्डारीले भने । काठमाडौँमा गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी (मही) बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ ।

प्रतिगिलासको ४० रुपियाँ देखि ८० रुपियाँ पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहता भन्छन् । जाडो याममा ठप्प रहेको चिसोको बिक्री विस्तारै गर्मी लागेसँगै बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले कामको खोजीमा लाग्दा थाकिसकेका मेहताले एउटा साइकलमा पानीदेखि लस्सी बनाउन चाहिने सबै थोकको व्यवस्था गरी घुमन्ते व्यापार गर्दै आएको पनि पाँच वर्ष नाघिसकेको छ ।

स्तरीय पसलमा भन्दा सस्तोमा लस्सी बनाउने भएकाले उक्त व्यवसायबाटै घरव्यवहार चलाउन उनलाई सजिलो भएको छ । उनी भन्छन्–थोरै लगानीबाट पनि दैनिक तीन सय रुपियाँदेखि बढीमा नौ सय रुपियाँ सम्म आम्दानी हुन्छ ।

भारतीय उपमहाद्वीपमा चलनचल्तीमा आएको विश्वास गरिएको लस्सी विशेष गरी गर्मी क्षेत्रमा पिउने गरिन्छ । भारतीय उपमहाद्वीपमा लस्सी बनाउँदा नून, मसला तथा फलफूलको पनि प्रयोग गरिन्छ । कतिपय क्षेत्रमा स्वीट लस्सीको नाममा चिनी हालेर लस्सी खाने गरिन्छ ।

बंगलादेशमा लस्सीमा नुन हालेर खाने प्रचलन रहेको छ । पाकिस्तानमा घरघरमा नै लस्सी खाने प्रचलन छ । त्यहाँ पनि नून राखेर लस्सी पिउने गरिन्छ ।

लस्सी झण्डै क्राइष्ट जन्मनुभन्दा एक हजार वर्ष अघिदेखि प्रयोगमा आएको जनविश्वास रहेको छ । नयाँ बसपार्कमा लस्सी पिइरहेका उमेश बुढाथोकी भन्छन् – जाडोयाममा मलाई त्यति लस्सी खान मन पर्दैन, तर गर्मीयाममा कोक, फयान्टा जस्ता पेय भन्दा लस्सी नै मनपर्छ । पेयपदार्थको हिसाबले लस्सी स्वास्थ्यबद्र्धक पनि छ ।

उनी भन्छन् – अन्य मुलुकमा जस्तै नून राखेरभन्दा चिनी राखेर बनाइने लस्सी नै मनपर्छ । अर्का उपभोक्ता जुनु पण्डित भन्छन् – विशेष गरी भारत र नेपालका तराईमा पाइने लस्सी हाल आएर काठमाडौँमा पनि लोकप्रिय भएको छ ।

Advertisement

Advertisement

Advertisement