बीमांक योगदानभन्दा बढी उपचार खर्च

Advertisement

चितवनः चितवन जिल्लामा बीमांक योगदान रकमभन्दा बढी सेवा प्रदायकले उपचार खर्च लिएका छन् । जिल्लामा बीमा योगदान रकम छ करोड ४७ लाख ३० हजार ६७० रुपियाँ संकलन भएको छ भने सेवा प्रदायकलाई आठ करोड दुई लाख ४९ हजार २६५ रुपियाँ भुक्तानी भएको छ ।

स्वास्थ्य बीमा बोर्डका ३ नम्बर प्रदेशका संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार देशभरका ३१ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो । उनले चितवनमा एक लाख नौ हजार ३०६ जनाले बीमा गरेका छन् जसमध्ये ५७ हजार ४५० जनाले सेवा लिइसकेका छन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या पाँच लाख ९२ हजार ६०१ रहेको छ । कूल जनसंख्याको १८ दशमलव ४४ प्रतिशत जनताले बीमा गरेको उनले बताए ।

भट्टराईका अनुसार बीमा लागू भएका ३१ वटा जिल्लामा पाँच लाख ८६ हजार ८२७ जनाले बीमा गरेका छन् जसमध्ये एक लाख १४ हजार ९०७ जनाले सेवा लिएका छन् । कूल बीमा योगदान रकम ३२ करोड १९ लाख दुई हजार ५०० रुपियाँ संकलन भएको उनले बताए । सेवा भुक्तानीबापत १५ करोड ५० लाख रुपियाँ भुक्तान भएको छ ।

सचेत नागरिक भएकै कारण चितवनमा बीमाप्रतिको आकर्षण बढेको अनुमान छ । जिल्लाका १२ वटा अस्पतालले सेवा दिइरहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन मेडिकल कलेजले ३५ हजार १८ जनालाई बीमा दाबी उपचार गरेको जनाएको छ ।

ती अस्पतालमध्ये गुञ्जमानसिंह अस्पतालबाट भने अहिलेसम्म कसैले पनि बीमा दाबी गरेर उपचार गरेका छैनन् । जिल्लामा असार १ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो ।

Advertisement

Advertisement

Advertisement