राम्रो काम गर्ने छ प्रहरीलाई प्रत्येक महिना ‘अवार्ड’

Advertisement

काठमाडौंः महानगरीय प्रहरी परिसरले ‘काठमाडौँ प्रहरी अवार्ड’ घोषणा गरेको छ । परिसरले हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनाका दरले छ जनालाई नगदसहित पुरस्कृत गर्न लागेको हो ।

नेपाल बंगलादेश बैँकको सहकार्यमा गरिएको पुरस्कारका लागि परिसरलाई १८ लाख ६० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पुरस्कारको राशि जवानलाई दश हजार रुपियाँ, प्रहरी हबल्दारलाई १५ हजार रुपियाँ, प्रहरी सहायक निरीक्षकलाई २० हजार रुपियाँ, प्रहरी नायब निरीक्षकलाई २५ हजार रुपियाँ, प्रहरी निरीक्षकलाई ३५ हजार रुपियाँ र प्रहरी नायब उपरीक्षकलाई ५० हजार रुपियाँ हुनेछन् ।

परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा परिसरका प्रमुख पोखरेलले यस्तो सहयोगले प्रहरीलाई कार्यसम्पादन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।

उनले हरेक महिना छ जनाका दरले एक वर्षमा ७२ प्रहरीलाई पुरस्कृत गर्न लागिएको जानकारी दिए । बैँकका प्रमुख कार्यकारी निर्देशक ढुंगानाले सामाजिक उत्तरदायित्व वहन गर्न बैँकले परिसरसँग सहकार्य गरेको बताए । अहिले महानगरीय प्रहरी परिसरअन्तर्गत तीन हजार तीन सय प्रहरी कर्मचारी कार्यरत छन् ।

Advertisement

Advertisement

Advertisement