सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान खोल्ने सरकारको तयारी

Advertisement

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ । मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई विश्वविद्यालयमा रुपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान खोल्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालीम सञ्चालन गर्दै आएको छ । हालसम्म नाथमले सो क्षेत्रमा करीव ४५ हजार जनशक्ति उत्पादन गरिसकेको छ ।

नाथमको ४५औं वार्षिकोत्सवका अवसरमा मंगलबँर आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नाथमलाई विकास समितिअन्तर्गत रहने गरी विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने तयारी भएको जानकारी दिए ।

उनले भने, “होटल तथा पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सातवटै प्रदेशमा नाथम स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता छ, यस कार्यमा सरकारको प्राथमिकता रहेको छ ।”

मन्त्री अधिकारीले बजारको मागभन्दा परम्परागतरुपमा विश्वविद्यालयले आफ्ना अध्ययन अध्यापन सञ्चालन गरिरहेकामा अब यसमा परिवर्तनको खाँचो रहेको बताउँदै समृद्धिको आधारका रुपमा रहेका पर्यटन व्यवसायको प्रवद्र्धनमा सरकारको उच्च ध्यान गएको छ भने ।

विमानस्थलको सुधार, आन्तरिक एवं बाह्यरुपमा हवाई सम्पर्क विस्तार, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सरकारको काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

सो अवसरमा नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले नाथमलाई पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रको दक्षिण एशियकै उत्कृष्ट शैक्षिक तथा तालीमको गन्तव्य बनाउने योजना रहेको जानकारी दिँदै यसका लागि यसलाई विश्वविद्यालयका रुपमा रुपान्तरणको तयारी भएको बताए ।

कर्यक्रममा प्रतिष्ठानका प्राज्ञिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान दिएका महेश्वर न्यौपाने, देवराज ढकाल, गजेन्द्र ठाकुर, चन्द्र रिजाल, रामबहादुर कुँवर र चूँडामणि शर्मालाई सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement