राष्ट्रपतिको सपथ सर्वोच्चको लागि संवैधानिक विवादको विषय

Advertisement

काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ गैरसंवैधानिक भन्दै परेको मुद्दालाई सर्वोच्च अदालतले दर्ता गरेको छ । भण्डारीको सपथ गैरसंवैधानिक भएको दावीसहित पेश भएको मुद्दा सर्वोच्चको एकल इजलासले मंगलबार दर्ता गर्न आदेश दिएको हो ।

न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले प्रधान न्यायाधीस पराजुलीलाई अवकाशको पत्र काटेको केही बेरपछि पराजुलीले राष्ट्रपति भण्डारीलाई सपथ खुवाएका थिए । यस विषयमा कानुन व्यवसायीदेखि बुद्धिजीवीहरुसमेत विभाजित छन ।

पत्र काटेपछि भएको भनिएको राष्ट्रपतिको सपथको विवाद संविधानको व्याख्याको विषय रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको इजलासले मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो । पराजुलीले राष्ट्रपतिलाई राजीनामा दिइसकेका छन् भने प्रधानमन्त्रीलाई भेटेर सचिवलाई कारवाही गर्न आग्रह गरेका छन् ।

अवकाश पाएका प्रधान न्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउने कार्य संविधान विपरित भएको दावीसहित अधिवक्ता नारायण खरेलले पेश गरेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गर्दै दर्ता अस्वीकार गरेको थियो ।

तर, दरपीठविरुद्ध अधिवक्ता खरेलले इजलासमा निवेदन दिएपछि न्यायाधीश खतिवडाको इजलासबाट प्रशासनको दरपीठ बदर गरी मंगलबार दर्ता आदेश भएसंगै उक्त विवाद सर्वोच्च अदालतको व्याख्याको विषय बन्न पुगेको छ । पछिल्लो समयमा सर्वोच्चका अधिकांश न्यायाधीसहरु पराजुलीविरुद्ध एक भएका थिए ।

Advertisement

Advertisement

Advertisement