नेपाल घुम्न आएका विदेशी सौराहामा फोहर टिप्दै

Advertisement

चितवनः चितवनको रत्ननगरस्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले मंगलबार फोहर संकलन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित इलाका ढुंग्रेखोला आसपासमा मंगलबार विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो ।

नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इङ्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिक फोहर संकलनमा सहभागी थिए । जर्मनीबाट आएकी आनाले प्रकृतिलाई सफा राख्न र पर्यावरण जोगाउन फोहर व्यवस्थापन जरुरी रहेको भन्दै शुरु भएको फोहर संकलन अभियानमा आफू पनि सहभागी भएको बताइन् ।

चितवनका स्थानीयवासीले विगत एक सातादेखि फोहर संकलन अभियान चलाइरहेका छन् । आजसम्म चार ट्रयाक्टरभन्दा बढी फोहर संकलन गरेर व्यवस्थापन गरिसकेको अभियानमा सक्रिय रहेका होटल पार्कसाइडका सञ्चालक तथा संरक्षणकर्मी शिरलाल परियार बताउछन् ।

राप्ती नदी तथा यसका सहायक नदीका मुहान क्षेत्रबाट बगेर आएका धेरै फोहर निकुञ्जको संरक्षित्र क्षेत्रमा थुप्रिएकाले वन्यजन्तु र वासस्थानलाई समेत असर गर्ने हुँदा फोहर संकलनलाई तीव्रता दिएको परियार बताउछन् । सो अभियानमा काठमाडौँ बूढानीलकण्ठको भिक्टर ह्यूगो मञ्जुश्री विद्यालयका शिक्षक, स्वयंसेवी र विद्यार्थी गरी २० जनाको समेत सहभागिता थियो ।

एक विद्यार्थी पुष्पा परियारले आफ्नो क्षेत्रमा पनि विद्यार्थी मिलेर फोहर संकलन अभियान चलाउने गरेको बताउँदै सौराहामा शैक्षिक भ्रमणमा आउँदासमेत फोहर टिप्ने अभियानमा सरिक हुन पाएकोमा खुशी व्यक्त गरिन् । सो क्रममा प्लाष्टिक, सिसाका बोतल, बोरा, कपडाका टुक्रा अत्यधिकरुपमा पाइएको थियो ।

यस्ता फोहरले पर्यावरण र वन्यजन्तुमा समेत असर गर्ने भएकाले फोहर संकलन अभियानलाई बृहत् बनाउनुपर्ने बताउछिन् समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान रत्ननगरकी अध्यक्ष डोमा पौडेल । विश्वकै दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको महत्वपूर्ण वासस्थान रहेको चितवन निकुञ्ज भएर बग्ने खोलानालाका किनारका अधिकांश स्थानमा मानव निर्मित फोहर अत्यधिक भएपनि संकलन अभियानलाई तीव्रता दिन भने अझै सकिएको छैन ।

Advertisement

Advertisement

Advertisement