जलविद्युतमा अर्को चिनियाँ लगानी, ७५ मेगावाटको त्रिशुली गल्छी बनाउन भण्डै १० अर्ब आउँदै

Advertisement

काठमाडौंः सिद्घकाली पावर लिमिटेडले प्रवद्र्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ । चीनको सिचुवान प्रान्तको राजधानी छेदुङस्थित दोङफाङ इलेक्ट्रिक कर्पोरेशन र सिद्घकाली पावर कम्पनीबीच बुधबार लगानीसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नुवाकोट र धादिङबीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल साउनबाट सुरु भई ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १५ अर्ब ५० करोड रुपियाँ लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले नौ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाँकी रकम नेपाली लगानीकर्तामार्फत संकलन गरिने छ ।

दोङफाङ इलेक्ट्रिक कर्पोरेशन टरवाइन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरुमध्येको एक हो । यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेलवे ब्यूरो २ ले गर्नेछ । यो कम्पनी हाल भेरी बबई सिचाई आयोजनाको सुरुङ निर्माण कार्यमा संलग्न रहेको छ ।
त्रिशुली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएता पनि वर्षातको समयमा पर्याप्त पानी हुने हुँदा यस परियोजनाले ८२.५ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्नेछ । यो एक बहुआयामिक परियोजना हुनेछ ।

यो परियोजनाको लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण गर्न सकिने कम्पनीको भनाई छ । यो परियोजनाको विद्युत गृह राजधानीबाट नजिक भएकोले उक्त स्थलमा जलक्रिडा स्थल, भनभोज साथै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिनेछ ।

साथै यस परियोजनास्थल वरपर साना ठूला होटल तथा रिसोर्टहरु सञ्चालन गरि पर्यटकीयस्थलको रुपमा पनि विकास गर्न सकिने भन्दै कम्पनीले जसले गर्दा पोखरा तथा चितवन जाने पर्यटकहरुलाई आकर्षित गरि त्यस ठाउँका स्थानीय जनताका लागि भरपुर रोजगारीको अवसर प्राप्त हुने जनाएको छ ।

चिनियाँ कम्पनीले गरेको लगानी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । यस आयोजना लक्ष्मी बैकको अगुवाईमा सम्पन्न हुनेछ ।

Advertisement

Advertisement

Advertisement