बेनी–जोमसोम सडक स्तरोन्नतिकालागि शुक्रबारदेखि आठघण्टा बन्द हुने

Advertisement

बेनीः स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ ।

मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवसायी, जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले बिहान ७ः३० देखि ११ः३० बजेसम्म र दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सडक पूर्णरुपमा बन्द गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए ।

“चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ । यसलाई निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रु पनि समयमै गन्तव्य पुग्न सकेका छैनन्”, उनले भने । “निश्चित समय तोकिएपछि निर्माण कार्य र यात्रु पनि सोहीअनुसार यात्रा गर्छन् ।” आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङदेखि जोमसोमसम्म कोशी कन्ट्रक्शनले काम गरिरहेको छ ।

गजुरमुखीले दुईखण्ड गरी सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ । “यो अवधिमा गलेश्वरदेखि घाँसासम्म पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाउने छ । तर घाँसादेखि माथि वैकल्पिक मार्ग पनि रहेका कारण केही खुल्ला गर्नेरिने आयोजनाका प्रमुख सुवेदीले बताए ।

मुस्ताङ खण्डमा वर्षाको समयमा पनि कम पानी पर्ने भएकाले आयोजनाले म्याग्दी खण्डमा पर्ने करिब ४२ किलोमिटर सडकको निर्माण कार्यलाई तीव्रता दिइएको जनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राष्ट्रिय प्राथमिकताको सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको बताए ।

चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत जोमसोमदेखि कोरलासम्म ९३ किलोमिटर सडकमा पनि थप प्याकेज बनाएर काम गर्ने तयारी भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement