नारायणगढ–मुग्लिन सडक खण्डका १४ वटा पुल एक वर्षमै बनाइने दावी

Advertisement

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने दावी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाइलमा हस्ताक्षर गरेका छन ।

सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गरेकोले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताए । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाइने बताए । उनले भने “यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।”

केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने श्रेष्ठले बताए । यकिन अहिले नै भन्न नसकिने भए पनि झण्डै दुई अर्ब रुपियाँ लागत लाग्ने अनुमान रहेको पनि उनले बताए ।

सोही सडकका चार वटा पुल निर्माण भइरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहनु भएका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताए । हाल रहेका पुल नभत्काइकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिंदै छ ।

सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाँच दशकलव पाँच देखि ६ मिटर फराकिला रहेका छन् ।

सडक फराकिलो र पुल साँघुरा हुँदा सवारी आवागमनमा समस्या हुने भएकाले छिटो सम्पन्न गर्न सक्ने गरी पुल निर्माण गरिने श्रेष्ठले बताए । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले अब बन्ने पुलबाट दुईतर्फी सवारी सहज सञ्चालन हुने बताए ।

पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाट हुनेछन् । खनालका अनुसार हाल बन्दै गरेका चार वटा पुलको काम तीब्र गतिमा अगाडि बढिरहेको छ । निर्माण शुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलवीरे रहेका छन् ।

दासढुंगाको पुलमा फाउण्डेशन सम्पन्न भई पिल्लर समेत उठिसकेको छ भने अन्य ठाउँमा खन्ने र फाउण्डेशनको काम भइरहेको छ । उनका अनुसार जलवीरेको पुलमा भने बाटो विस्तार पछि नक्सा नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement