काँग्रेसका लोकप्रिय नेता खुमबहादुर खड्काको निधन

Advertisement

नयाँदिल्लीः कांग्रेसका लोकप्रिय नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा उनको निधन भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको कां‌ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टी गरेका छन् । काँग्रेसका प्रभावशाली नेता खड्का निमोनिया र मिर्गौलामा गम्भीर समस्या आएपछि एपोलोमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै कांग्रेस कार्यकर्ताले रकम संकलन थालिरहेका बेला उनको निधन भएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको दावी गरिएको बेला एक्कासी निधनको खबर बाहिर आएको हो ।

भेन्टिलेटरमा राखेर खड्काको उपचार भइरहेको बेला काँग्रेसका थुप्रै नेता कार्यकर्ता उनलाई भेट्न दिल्ली आएका थिए । आर्थिक अभावका कारण खड्कालाई दिल्लीको एम्स अस्तपतालमा सार्ने तयारी भइरहे पनि स्वास्थ्य जटिल भएपछि सार्न ढिलो भएको थियो ।

यसअघि फागुन ४ गते खड्का बिरामी भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।
दुई बर्षअघि मिर्गौला प्रत्यारोपण गराएका खड्का कांग्रेसको काठमाडौँमा भएको १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा पनि विजयी भएका थिए ।

Advertisement

Advertisement

Advertisement