आलोकनगर सरसफाई अभियान ५१औं हप्तामा, सान्तोना कलेजले आयोजना गर्यो विशेष कार्यक्रम

Advertisement

काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित आलोकनगरका महिलाहरुले आफ्नो टोल सरसफाईका लागि सुरु गरेको अभियान ५१औं हप्ता पुगेको छ । उक्त अवसरमा स्थानीय सान्तोना कलेजको आयोजनामा शनिबार विशेष कार्यक्रम आयोजना गरियो ।

मातृशक्ति सरसफाई समूहको नाममा आलोकनगरका महिलाहरुले अघि बढाएको उदाहरणीय अभियानमा कलेजले आफ्नो एक महिने सामाजिक कार्यको अन्तिम दिन सरसफाईमा सहभागीता जनाएको हो । आजको कार्यक्रममा कलेका विद्यार्थी र स्थानीय गरी १५० को सहभागिता रहेको थियो । सन्देशमूलक प्लेकार्ड र व्यानरसहित सहभागी उनीहरुले टोलको परिक्रमा गरेका थिए । सरसफाईबाट चार रिक्सा फोहर संकलन गरी व्यवस्थापन गरिएको अभियानकी संयोजक प्रमिला पौडेलले जानकारी दिइन ।

सरसफाइ सकिएपछि आयोजित कार्यक्रममा सधै फोहर जम्मा गर्न आउने श्रमिकहरुको सम्मान गरिएको थियो । साथै कलेजको सामाकि कार्यक्रमअन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. ३१ का वडा सदस्य रमेश सत्यालले वाग्मति सफा गरेर मात्रै काठमाडौं सफा नहुने भन्दै काठमाडौं उपत्यकाका सबै स्थानीय निकायदेखि जिल्लावासीहरु सफाइ अभियानमा लाग्नुपर्ने बताए ।

उनले घरबाट निस्कने फोहरहरुलाई सडक छेउका पोलहरुमा राखिएका डस्विनहरुमा जम्मा गर्न, कुहिने र नकुहिने फोहरहरु छुट्टाएर कुहिने फोहरबाट तरकारी फलाउन सल्लाह पनि दिए ।

कार्यक्रममा मातृशक्ति समूहकी संयोजक पौडेल, कलेजका प्रधानाध्यापक, केपी खनाल, सरोज गिरीलगायतले सरसफाइको महत्वबारे बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement