चीन र भारतसँग मिलेर अचम्म लाग्ने विकास गर्छु– ओली, विप्लव र काँग्रेसलाई अवरोध नगर्न आग्रह

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने दाबी गर्दै नेपाललाई छिमेकीहरुसँग मिलेर समृद्धिको यात्रामा अगाडि बढाउने बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, “दुई देशसँग सहकार्य गरेर अचम्म लाग्नेगरी विकासको गतिलाई हामी तीब्रता दिन्छौं । होइन भने, दिगो विकासको लक्ष्य पूरा गर्न सक्दैनौं ।

उनले आफ्नो हुन लागेको भारत भ्रमणले उसँगको सम्वन्ध अझै सुधार हुने आशा व्यक्त गर्दै त्यस्तै अर्को छिमेकी मित्रराष्ट्र चीनसँगको सम्बन्ध पनि अत्यन्तै राम्रो भएको र नेपाललाई सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्रमा कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नती हुनुपर्ने व्यापार घाटा कम गर्न सकिएन भने लक्ष्य हाँसिल नहुने बताए । नेपालको व्यापार घाटा अत्यन्तै डरलाग्दो अवस्थामा रहेको उनले सुनाए ।

आलीले भने, “हामी अहिले बेच्छौं सात रुपियाँको, किन्छौँ ९३ रुपियाँको । कहाँबाट किन्ने ? यो घाटा इतिहासमै सबैभन्दा बढि नकारात्मक विन्दुमा पुगेको हो । यसलाई केही समयभित्रमा नै सकारत्मक दिशामा लैजान्छौँ ।”

ओलीले विप्लवलाई भने– “राजनीतिक मजाक नगर्नुस, अलि बढ्ता भयो”
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन् । उनले चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनैपनि सिद्धान्त नभएको भन्दै विप्लवबारे कडा आलोचनासहित कटाक्ष गरे ।

ओलीले भने, “थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ । माक्र्सवादमा कहाँ लेखेको छ ? नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस् ।”

विप्लव समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी समेत दिए ।

उनले भने, “यो विप्लव कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने ? मजाक गर्ने ? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रशंसा गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।”

राजनीतिक मजाक नगर्न ओलीले पटक–पटक विप्लवलाई चेतावनी दिए । उनले भने, “प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाहीं आउनु । सातदिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो ।”

स–साना समूहले च्याखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई जुवाको खालको संज्ञा दिए । खाल उठिसकेपछि च्याखे थापेर केही नहेन उनले बताए । अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको सुनाए ।

देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताएका छन् । “ट्याउँट्याउँ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?” ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति व्यङ्ग्य गर्दै देशमा अधिनायकवाद ल्याउने बताएका छन् । जनता भोकभोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीहरुलाई अधिनायकवाद जस्तो लाग्न सक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने “कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा किन आत्तिन्छन् ? यस्तो प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न ।” देशमा अनुभूति गर्न सक्नेगरी सरकारले काम गर्ने दाबी गर्दै उनले भने, “यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शीतलहरमा एउटा कम्बल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुप लागेर बस्दैनौं । म देशको प्रधानमन्त्री छु । कम्बल ओढ्न नपाएर शीतलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेका होला । अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।”

आफूले राम्रा काम मात्रै गर्ने दाबी गर्दै ओलीले सरकारप्रति आशंका नगर्न आग्रह समेत गरे । उनले भने, “मान्छे मर्न नपाउने, कठ्याङ्ग्रिन नपाउने, भोकै बस्न नपाउने अधिनायकवाद ल्याएरै छाड्नेभयो भन्ने लागेको होला । हो, यो अधिनायकवाद ल्याउने लक्षण हो ।”

अहिलेको सरकारलाई विकास निर्माणका काम गर्न कुनै पनि अवरोध नभएको ओलीले बताए । उनले अनावश्यक बाधा अबरोध नगर्न समेत चेतवनी दिए । ओलीले भने “विकास गर्नका लागि व्यवधान पुर्याउने कुनै कुरा हामीलाई मान्य हुँदैन ।

विकास र समृद्धिका लागि भष्टाचार अन्त्य गर्नुपर्ने भएकाले आफू त्यसका लागि प्रतिवद्ध रहेको ओलीले बताए । “म भ्रष्टाचार सहँन्न, आफू पनि गर्दिन अरुलाई पनि गर्न दिन्न, निर्मूल पार्छु ।” उनले भने ।

देश र जनताका लागि उचित योजना र लक्ष्य बनाएर अघि बढ्ने ओलीको भनाई छ । “हामी अन्धाधुन्ध हिँडेका छैनौँ, निर्दिष्ट लक्ष्य र गन्तव्य छ । गन्तव्यमा पुग्नका लागि सबै नीति र योजना तय गछौँ । अन्धाधुन्ध हिँड्दै जाउँ, जहाँ पुगिएर पुगिएला भनेर हिँडेको छैन ।” उनले भने ।

लोकतन्त्रले सबै जनताको जीवनस्तर उकास्ने बताउँदै उनले जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement