बाणिज्य बैंकहरुमा सिभिल बैंकको सेयर मूल्य सबैभन्दा कम, नबिलको सबैभन्दा माथि

Advertisement

काठमाडौंः सेयर बजार गिरावटको गहिरो प्रभाव बाणिज्य बैंक समूहमा परेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूह पुँजीवृद्धिदेखि अर्थमन्त्रीका निराशाजनक अभिव्यक्तिको प्रभाव देखिएको छ ।

कतिपय बैंकहरुको सेयर प्राथमिक सेयर (आइपीओ)को मूल्यनजिक पुगेका छन भने चार अंकमा किनबेच हुँदै आएका बैंकहरुको सेयर पनि तीन अंकमा आइपुगेका छन् । सबैभन्दा उच्च मूल्य रहेको नविल बैंककको सेयर घट्दै अहिले ९४५ रुपियाँमा आइपुगेको छ ।

सेयर बजार अहिले कै गतिमा गिरावट जारी रहे केही बैंकहरुको मूल्य एकसयबाट पनि तल झर्ने लक्षण देखिएको छ । अहिले सबैभन्दा न्यून मूल्यमा सिभिल बैंकको सेयर रहेको छ । सेन्चुरी बैंक, जनता बैंकको सेयर पनि त्यसैको नजिक छ ।

पुँजी वृद्धिसँगै बजारमा आपूर्ति बढी हुँदा सेयरमा गिरावट आएको धेरैको विश्लेषण छ । सँगसँगै तरलता संकुचनका कारण बैंकहरुले ब्याजदरमा गरेको वृद्धि, सेयर बजार अनुत्पादक भन्दै लगानी नगर्न अर्थमन्त्री डा. युवराज खतिवडाबाट आएका अभिव्यक्ति जस्ता कारणले सेयर बजार प्रभावित भएको छ ।

जसको सबैभन्दा बढि प्रभाव बाणिज्य बैंकहरुको सेयरमा देखिएको छ । बाणिज्य बैंकहरुको तुलनामा लघुवित्त र बीमा कम्पनीको सेयरको अवस्था सन्तोषजनक रहेको छ । बजार घट्ने क्रमसँगै सिभिलको सेयर प्रतिकित्ता १४५ पुगेको छ भने जनताको सेयर १५४ र सेन्चुरीको १६८ रुपियाँ रहेको छ । पाँचसयदेखि हजारभित्र सेयर मूल्य रहेका बैंकहरुमा नविल, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई र हिमालयन छन भने बाँकीको सेयर त्यो भन्दा तल छ ।

Advertisement

Advertisement

Advertisement