वसन्त ऋतु शुरु भएसँगै  हिमाल आरोही धमाधम हिमालतिर

Advertisement

काठमाडौँः हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए ।

हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उनको भनाइ छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ ।

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग  ११ लाख रुपिँया दस्तुर लिन्छ । नेपालीले  ७५  हजार रुपिँया तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपिँयादेखि एक करोड रुपिँयासम्म खर्च गर्छन् ।

ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक  ३० लाख रुपिँयाभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताए ।

आरोहणमा कडाइ

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थाल्नु भएको छ । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताए ।

समाचारका लागि विभागको अनुमति

सगरमाथासहितका हिमाल आरोहणसम्बन्धी समाचार पनि विभागको अनुमतिबेगर प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ । विगतमा आरोही दलका सदस्य तथा आरोही पथप्रदर्शकले आफैँ सञ्चार माध्यमलाई अनर्गलरूपले जानकारी गराउँदा विकृति आएकाले यो यामदेखि पहिला विभागमा जानकारी गराउनुपर्ने र विभागको अनुमतिपछि मात्र सञ्चारमाध्यमलाई जानकारी गराउन बाटो खुल्ला गरेको हो ।

आरोहणमा जाँदा ड्रोन क्यामरा प्रयोगमा कडाइ गर्नुका साथै आरोहणमा जानेले प्रतिआरोही कम्तीमा छ वटा अक्सिजन सिलिन्डर लैजानुपर्ने व्यवस्था गरिएको छ ।

फोहर व्यस्थापन र सगरमाथाको चुचुरोमा लैजाने झण्डालाई कडाइ गरिएको छ । हेलिकोप्टरको प्रयोग उद्धारमा मात्र गरिनुपर्ने र क्याम्पको नजिक अवतरण गर्न नदिन एजेन्सीलाई जिम्मेवार बनाइनेछ । उल्लिखित काममा अटेर गरेमा आरोहण प्रमाणपत्र जारी नहुने, आरोहीले राखेको फोहर धरौटी फिर्ता नहुने तथा आरोहण राजस्वको दोब्बर रकम तिर्नुपर्ने र जरिवानासहित नेपालमा आउन पाँचदेखि १० वर्ष प्रतिबन्ध लगाइने कानूनी व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement