सिण्डिकेट गर्नेहरुलाई कारवाही सुरु, नयाँलाई खुल्ला, साझाले पनि सुरु गर्यो बनेपासम्मको सेवा

Advertisement

काठमाडौंः कोटेश्वर पूर्वका ११ वटा समितिले मयुर यातायातलाई तोडफोड गर्नेदेखि यातायात ठप्प पार्नेसम्मका अराजक गतिविधि गर्न थालेपछि उनीहरुलाई कारवाही गर्ने र नयाँ कम्पनी एवं व्यवसायीलाई रुट परमिट दिने प्रक्रिया अघि बढाएको छ ।

अरनिको राजर्मागमा सिण्डिकेट लागू गर्न खोज्ने ११ समितिको रुट इजाजत रद्द गर्नेगरी नयाँ कम्पनी र व्यवसायीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन सरकारले आह्वान गरेको हो ।

यातायात व्यवस्था विभागले धुलिखेलसम्म यातायात सेवा सञ्चालन गर्न चाहने कम्पनी एवं व्यवसायीहरुलाई आज बुधबार नै सबै प्रक्रिया पूरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो । एघार वटा समितिले यातायात सेवा ठप्प पर्दा बनेपादेखि काठमाडौं आउने जाने यात्रुहरुले ठूलो सास्ती भोग्नुपरेको छ ।

अत्यावश्यक सेवाअन्तर्गत पर्ने यातायात सेवामा समितिहरुले हड्ताल गरेपछि सरकार कठोर ढंगले प्रस्तुत भएको हो । मयुर यातायातले काठमाडौंदेखि बनेपासम्मको रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै क्षेत्रमा बस चलाउन छाडेर आन्दोलनमा उत्रिएका छन् ।

यात्रुहरुले सास्ती भोग्नुपरेपछि साझा यातायातले सो रुटमा सेवा विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ ।

साझा यातायातले यसअघि भक्तपुरसम्म रुट विस्तार गर्दा तिनै सिण्डिकेटवाला व्यवसायीले बिरोध गरेकाले उसको सेवा विस्तार रोकिएको थियो ।

विभागका महानिर्देशक रुपनारायाण भट्टराईका अनुसार बनेपा धुलिखेलसम्म बस चलाउन चाहने जुनसुकै यातायात व्यवसायीलाई अस्थायी वा स्थायी रुट इजात दिन र सुरक्षाको व्यवस्था गर्न सरकार तयार छ ।
सिन्डिकेट गर्नेहरु बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया अघि बढिसकेको उनले जानकारी पनि दिएका छन् ।

Advertisement

Advertisement

Advertisement