‘ओखलढुङ्गाको उद्योगलाई न्यूरोडको जग्गा धितो खोज्ने बैंकहरुको प्रवृत्ति ठिक भएन’

fncsi_shyam_giri

नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्रबाट हुँदै आएको योगदानमा घरेलु तथा सना उद्योगको ठूलो योगदान रहेको छ । रोजगारी सिर्जनादेखि लिएर आयात प्रतिस्थापन र निर्यात बढाउन समेत घरेलु तथा साना उद्योगहरुले सहयोग गर्दै आइरहेको छ । तर, नयाँ प्रविधि र प्रोत्साहन नहुँदा यो क्षेत्र अनुसार फस्टाउन भने सकेको छैन् । अब स्थायी सरकारको स्थापना भएको अवस्थामा घरेलु तथा साना उद्योगको विकासका लागि के गर्नुपर्छ ? यिनै विषयमा केन्द्रीत रहेर कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीसँग गरिएको कुराकानीको सारः

विगतमा अस्थिर सरकार झेल्दै आउँनु भयो । अब स्थायी सरकार बनेको छ । कत्तिको आशावादी छ साना उद्योग व्यवसायीहरु नयाँ सरकारसँग ?
हुन त हामीले अत्यन्तै प्रतिकुल परिस्थितिमा पनि व्यवसाय सञ्चालन गर्दै आयौं । विगतमा हामीले धेरै अस्थिर सरकार झेल्दै आयौं । र, अब अलिकति भए पनि राजनीतिक स्थायित्वको सरकार आएको अवस्था छ । स्वभाविक रुपमा हामी आशावादी हुनुपर्छ । र छौं पनि । सरकारको प्राथमिकता आर्थिक समृद्धिको भएको कुरा प्रधानमन्त्री तथा मन्त्रीहरु, सत्तारुढ दलका नेताहरुको भनाईबाट हामीले पाएका छौं । समृद्धि भनेको आर्थिक विकास भएकोले हामी निकै आशावादी छौं । आर्थिक विकासको आधारभूमी भनेको लघु, घरेलु र साना उद्योग हुन् । चाहे त्यो कृषिमा होस । चाहे साना तथा घरेलु उद्योगमा होस । चाहे वनसँग सम्बिन्धित होस । जुनसँग सम्बन्धित भए पनि त्यो साना तथा घरेलु उद्योगबाट मात्र सम्भव छ । त्यसकारण हामी धेरै आशावादी छौं ।

nic-asia

विगतका दिनमा विगतका सरकारले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि के के गर्न आवश्यक थियो ? के के गर्न सकेनन् ? के के गर्यो ? अबको सरकारले के गर्नु आवश्यक छ ?
खासमा यो क्षेत्रको समस्या के हो ? भनेर पहिचान गर्न सक्नुपर्छ । विगतको सरकारले पनि यो क्षेत्रको लागि काम गर्ने प्रयास गरेको थियो । जहाँ काम गर्न पथ्र्यो त्यो नगरेर मात्र परिणाम नदेखिएको हो । यो क्षेत्रको समस्या के हो ? भनेर हामीले पहिचान गर्यौं भने मात्र समाधान गर्न सक्छौं । यो क्षेत्रको मुख्य वा पहिलो समस्या भनेको चाँही साना तथा घरेलु उद्योग यत्रतत्र फैलियर बसेका छन् । सबैतिर छरियर बसेको कारण संस्थागत हुन सकेको छैन् । र, हामीले यीनलाई संस्थागत बनाउँनका लागि अहिलेको सरकारसँग कम्तिमा पनि एक पालिकामा सानो उद्योग ग्राम बनाऔं भनेर माग राखेका छौं । छरपस्ट भएर बसेका उद्योगहरु त्यो पालिकामा आएर बसुन र सेवा सुविधा पुर्याउन सकिन्छ भनेका छौं । सरकारले पनि हाम्रो माग सम्बोधन गर्दै अहिले उद्योग मन्त्रालयसँग समन्वय गर्दै प्रत्येक पालिकामा साना औद्योगिक ग्राम बनाउन लागिपरिरहेको छ ।

यो क्षेत्रमा भएको दोस्रो समस्या भनेको प्रविधिको कुरा भयो । जस्ले गर्दा साना तथा घरेलु उद्योगमा पुस्ता हस्तान्तरण हुन सकेको छैन् । यो पनि साना उद्योग क्षेत्रको मुख्य समस्याका रुपमा आएको छ । पुस्ता हस्तान्तरण नहुनुको मूख्य कारण भनेको आम्दानी हो । बाबु आमाले गरेको काम छोरो छोरीले सञ्चालन गर्न नसक्ने भएको छ । प्रविधि प्रतिस्थापन अहिलेको जरुरी विषय बनेको छ । प्रविधि भनेको बाहिरका मात्र हैन कि हामीसँगै भएको प्रविधिको प्रयोग पनि हो । हामीले अहिले आजभन्दा २५० वर्ष पहिलेको प्रविधि प्रयोग गरेर उद्योग सञ्चालन गरिरहेकाले नयाँ पुस्तामा आकर्षण नभएको हो । यो लघु, घरेलु उद्योगको सबभन्दा ठूलो समस्या भनेको पुस्ता हस्तान्तरण पनि बनेको छ । यस्का लागि एकेडेमिक संस्थाले ध्यान दिनुपर्छ भन्ने आग्रह छ ।

र, तेस्रो तथा महत्वपूर्ण समस्या भनेको फाइनान्सिय एक्सेस पनि हो । अहिलेको समस्या पुँजी लगानीको पनि हो । लगानीको लागि पुँजी छैन भने गरिएको लगानीमा पनि थोरै मात्रामा गरिएको अवस्था छ । निजी लगानी र पारिवारिक मात्र साना उद्योगमा गरिएको लगानीको स्रोत हो । बैंकले धेरै लगानी गरिरहेको अवस्था छैन र लगानीको वातावरण पनि बनाएका छैनन् । बैंकले राष्ट्र बैंकबाट घोषित नियमअनुसार पिछडएको क्षेत्रमा कर्जाको कार्यक्रम छ यो कार्यक्रमलाई उत्पादनमूलक क्षेत्रमा जोड्न सक्यौं भने राम्रो हुन्छ । त्यसका लागि हामीले राष्ट्र बैंक, सरकारसँग सल्लाह गरिरहेका छौं । अर्को कुरा एक, दुई लाखको बाइकलाई बैंकले धितो मान्छ । तर, २५, ३० लाखका हाम्रा उद्योगमा भएका जेनरेटरहरुलाई धितो मान्दैन । बैंकले के खोज्छ भने ओखलढुङ्गामा उद्योग गर्न खोज्यो भने न्युरोडमा भएको घरलाई धितो मान्छ । तेत्रो मेसिनरीचाई धितो हुन नसक्ने अनि घरजगाचाई धितो हुने ।

बैंकले साना तथा घरेलु उद्योगलाई विश्वास नगरेको हो ?
त्यस्तो पनि भन्न सकिदैन । संसारमा के प्रचलन छ भने त्यस्तो साना मेसिनरीलाई धितो राखेर लगानी गर्ने प्रचलन पनि छ । त्यसकारण त्यस्तो व्यवस्था हामी जस्तो गरिव देशले सिक्न आवश्यक छैन र ? त्यसैले हामीले यो कुरा सिक्नपर्छ भनेर राष्ट्र बैंक, सरकार र बैंकरलाई पनि भनेका छौं । अर्को कुरा बजारको पनि समस्या छ । हामीले हाम्रा उत्पादनलाई सरकारले किनेर व्यापार गर्ने कुरा गरेका होइनौं तर, सरकारलाई चाहिने सामानहरु हामीसँग किन्नुहोस भनेका हौं । सरकारले खरिदसम्बन्धी निर्देशिका कार्यान्वयन गरोस । यदि उपलब्ध छ भने १५ प्रतिशतसम्म महङगो भएपनि स्वदेशी सामानको प्रयोग सरकारले गरोस । हामीले उत्पादन गरेका वस्तुको प्रयोग गर्नै बानी सरकारी निकायले बसाल्नुपर्छ । सरकारले यो गर्यो भने जनताले पनि सिकेर यस्तै गर्छन् । त्यसपछि अरु सामाजिक संस्थाले पनि फलोअप गर्छन् ।

नेपालमा औद्योगिक क्षेत्रको योगदान यसअघि जिडिपीमा १५ प्रतिशत थियो । अहिले घटेर सात प्रतिशतभन्दा कममा आएको छ । फेरि यसलाई पहिलाकै अवस्थामा पुर्याउन के गर्नुपर्छ ? र कति वर्ष जति लाग्ला ?
हो पहिला १५ प्रतिशतसम्मको योगदान थियो । र अहिले तपाईंले सात भन्नुभयो । घटेर पाँच प्रतिशतभन्दा केही बढि छ । यसलाई पहिलाकै अवस्थामा पुर्याउन ठूला उद्योगधन्दाले मात्र सक्दैनन् । त्यो गर्ने भनेको साना लघु घरेलु उद्योगले मात्र हो पहिलाको अवस्थामा पुर्याउन सक्ने । त्यो भएकाले यस्ता उद्योगहरुलाई अपस्किलिङ गर्न जरुरी छ । त्यसका लागि पनि धेरै समय लाग्ला जस्तो मलाई लाग्दैन । पहिला कै अवस्थामा पुर्याउन सरकारले दृढ इच्छा शक्तिका साथ फाइनान्स, प्रविधिका लागि काम गर्यौं भने धेरैमा तीन वर्षभित्रमा हामीले जीडीपीलाई पहिलाको अवस्थामा पुर्याउन सक्छौं । फेरि यहाँ लगानीको कुरा गर्दा तपाई छक्क पर्न सक्नुहुन्छ । सबैभन्दा ठूलो जिल्लाको बजेटको कुरा गर्ने हो भने बढिमा ७५ लाख होला । त्यसबाट कर्मचारीको तलब दिँदा ६५ लाख रुपियाँ खर्च हुन्छ । अनि १० लाख रुपियाँ जिल्ला भरिको उद्योग बढाउनमा खर्च हुन्छ । यस्तो अवस्थामा जीडीपीलाई पहिलाकै अवस्थामा पुर्याउन सकिन्छ ? भनेर सरकारलाई सोध्न मन छ । त्यसैले अहिलको सरकारलाई हामीले सल्लाह दिइरहेका छौं । एउटा प्रविधिको विकास गरौं अर्को फाइनान्सियल कुरामा सुधार ल्याउन सक्नुपर्छ । र साना तथा घरेलु उद्योगलाई संस्थागत गर्न सक्यौं भने तीन वर्ष भित्रमा हामीले इन्ड्रस्ट्रियल जीडीपीलाई पहिलाकै अवस्थामा पुर्याउन सक्ने संभावना प्रशस्त छ ।

यती भनिरहँदा पनि हामीले देखिरहेका छौं । भोगिरहेका छौं । मन्त्री, प्रधानमन्त्रीहरु आर्थिक विकासको कुरा गर्नुहुन्छ । तर, कार्यान्वयनमा तदारुक्ता देखिएको छैन् । यस्तो खालको प्रवृतिले उद्योग धन्दामा कस्तो खालको प्रभाव पार्छ ? के देख्नुहुन्छ ?
त्यसैले हामीले गरिरहेका काममा रिजल्टको कुरा गरिरहेको । उद्योगको कुरा गर्दा समस्या कहाँनेर छ भने अहिले एक्सेस भइरहेका उद्योगको मात्र उपयोग गर्ने हो भने काठमाडौंमा मात्र दुई लाख युवालाई रोजगार दिनसक्छौं । त्यसका लागि सरकार केन्द्रिकृत भएर लाग्नुपर्छ । सरकारले देखेको सपना पूरा गर्ने भनेको ब्युरोक्र्यासीले हो । तर, ब्युरोक्र्यासी आत्मकेन्द्रित भयो । अब सरकार पनि आत्मकेन्द्रित हुने, कर्मचारी पनि आत्मकेन्द्रित हुने र हामी निजी क्षेत्र पनि आत्मकेन्द्रित हुने भएपछि त देशको विकास कहाँबाट हुन्छ ? सबैले देशका लागि भनेर काम गर्ने हो भने त देश विकासका लागि धेरै समय लाग्दैन नि त ।