राजेश हमालसहित ५४ जनालाई नेतृत्व गर्दै आजदेखि ओलीको भारत भ्रमण

Advertisement

काठमाडौंः प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा केपी ओलीले ५४ जनाको टोलीलाई नेतृत्व गर्दै आज शुक्रबार भारत जाँदैछन् । प्रधानमन्त्रीको हैसियतमा उनको यो दोस्रो औपचारिक भ्रमण हो । यसअघि प्रधानमन्त्री हुँदा ओलीले पहिला चीनको त्यसपछि भारतको भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि ओलीको पहिलो विदेश भ्रमण हुन लागेको हो । काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली दूतावासका नौसहित भ्रमण टोली ५४ सदस्यीय हुने जनाइएको छ । तर निजी खर्चमा व्यक्तिगत हिसावमा पुग्ने व्यवसायी अन्य व्यक्तिहरुको ठूलै संख्या सरकारी लिष्टमा छैन ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गर्न लागेका ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत छन् ।

भ्रमण दलमा संघीय संसद्का सदस्यहरू शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमल श्रीवास्तव पनि सहभागी हुनेछन ।

प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आप्ूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि भ्रमण रहनेछन

त्यस्तै, भ्रमण दलमा पहिलो पटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसीलाई पनि स्थान दिइएको छ भने सरकारी सञ्चार माध्यमका प्रतिनिधि पनि टोलीमा छन् । नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरत रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता रहनेछ ।

राष्ट्रपति भवनमा आवास

परराष्ट्र सचिव शंकरदास बैरागीका अनुसार भारत सरकारले विशिष्ट पाहुनाका रूपमा प्रधानमन्त्री ओलीलाई त्यहाँको राष्ट्रपति भवनमा विशेष आतिथ्यता प्रदान गर्नेछ । प्रधानमन्त्रीको यस पटकको पहिलो विदेश भ्रमणलाई विशेष बनाउन नेपाल र भारतका उच्च अधिकारीले भरमग्दुर पहल गरेको दावी गरिएको छ ।

राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसहित १६ जनालाई विशेष आथित्यताको प्रबन्ध मिलाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन् । यस्तै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय काँग्रेस आईका नेतासँग पनि भेटवार्ता हुनेछ ।

कार्यक्रमअनुसार शनिबार मात्रै ओली र मोदीको भेटवार्ता हुने र पत्रकार सम्मेलन गरेर सहमति सार्वजनिक गरिने छ । ओलीले भारतको उत्तराखण्डको गोविन्ददेव पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

सो विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि दिनेछ । सो विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले वृक्षरोपण गर्नेछन् । यस भ्रमणमा नयाँ सन्धी सम्झौता नहुने विगतमा भएका द्विपक्षीय सहमतिलाई नै कार्यान्वयन गर्न पहल गर्ने सरकारी पक्षले जनाउँदै आएको छ ।

अरुण तेस्रो प्राथमिकतामा
ओलीको यस भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले भारतीय लगानीमा निर्माण सम्झौता गरिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने सम्भावना छ । यो आयोजनामा भारतको सरकारी कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो । कूल नौ सय मेगावाट क्षमताको यो आयोजना दशौं बर्षदेखि चर्चामा रहे पनि बन्न सकेको थिएन ।

Advertisement

Advertisement

Advertisement