अहिलेको उपयुक्त समयमा लगानी नगरे भारतीय लगानीकर्ताहरुले पछुताउनुपर्ने

Advertisement

नयाँ दिल्लीः प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणको पहिलो दिन नै शुक्रबार भारतीय व्यवसायीहरुहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आव्हान गरेका छन् ।

दिल्लीस्थित होटेल ताज प्यालेसमा आयोजित कार्यक्रममा ओलीले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको बताउँदै लगानीका लागि आग्रह गरे । यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पनि नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भन्दै लगानी गर्न आग्रह गरे थिए ।

प्रधानमन्त्री ओलीले नेपाल आर्थिक समृद्धिको बाटोमा बढिसकेको र लगानीका लागि निकै राम्रो बाताबरणसमेत बनेको भन्दै भारतीय लगानीकर्ताहरुले ढिलो गरे पछुताउनुपर्ने बताए । उनले नेपालमा नयाँ संविधान जारी भई सोअनुसार निर्वाचन भएर भण्डै दुईतिहाई बहुमतको स्थिर र बलियो सरकार बनेको भन्दै ओलीले अब नेपालमा कुनै खालको संक्रमणकाल नभएकाले ढुक्क भएर लगानी गर्न सकिने बताए ।

उनले छिमेकी मुलुकका साथै निजी क्षेत्रसँग सहकार्य गरेर नेपाललाई आर्थिक समृद्धितर्फ अघि बढाउने अहिलेको सरकारको उद्देश्य रहेको बताए । ओलीले, हामीसँग अब देशलाई समृद्धिमा लैजाने बाहेक अर्को विकल्प छैन, ढुक्कले नेपालमा लगानी गर्नुस ।

नेपालका प्रधानमन्त्रीसँगको अन्तरक्रियाका क्रममा भारतीय व्यवसायीले जलविद्युतमा लगानीको सम्भावना र अवसरबारे जिज्ञासा राखेका थिए । उनीहरुले नेपालमा लगानी गरेपछिका आर्थिक क्रियाकलापमा कर, करको दायरा, राजनीतिक अस्थिरता र अन्य समस्याबारे जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री ओलीले भारतीय व्यापारीहरुलाई आश्वस्त पार्दै अहिलेको वामपन्थी सरकारले निजी लगानीलाई प्रोत्साहित गर्ने भन्दै निजी उद्योगधन्दालाई राष्ट्रियकरण गर्ने सोच आफूहरुको नरहेको बताए ।

नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई कुनै खालको भेदभाव नगरिने ओलीले बताए । उनले नेपालका विभिन्न पाँचवटा सहरहरु भारतीय रेलले जोडिन लागेको बताउँदै अन्य पूर्वाधार निर्माणले पनि अब तीब्र पाउने बताए ।

प्रधानमन्त्री ओलीले जलविद्युतमा क्रसबोर्डर लाइनबाट दुवै देशलाई जोड्ने काम भइरहेकाले अब बिजुली आदन प्रदान पनि सहज हुने भन्दै नेपालमा उर्जाको समस्या अबका दिनमा नहुने बताए । भारतीय लगानीमा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना बन्न लागेको भन्दै उनले यसले दुई देशबीचको सहकार्य अझ मजबुत हुने बताए ।

कार्यक्रममा नेपालका सरकारी अधिकारीदेखि दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरुले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement