प्रवासी नेपालीले ओलीलाई भने– हामीलाई यहाँ बस्न पटक्कै मन छैन, फर्किने वातावरण बनाइदिनु

Advertisement

नयाँ दिल्लीः भारतमा रहेका प्रवासी नेपालीहरुले सीमा नाकाहरुमा आफूहरुलाई दिने गरेको दुःख बैंकिङ कारोबारमा भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

भारत भ्रमणमा रहेका ओलीसँग नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेट गर्दै प्रवासी नेपालीहरुले आफूहरुले भोग्नुपरेका समस्याहरु समाधान गर्न आग्रह गरेका हुन । नेपाली नागरिक रोजगारी, अध्ययन तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन् ।

प्रवासी नेपालीले आफूहरुलाई बैंकिङ कारोबार गर्न, रकम पठाउन समस्या हुने गरेको भन्दै यस्ता समस्याहरु समाधान भए आफूहरूलाई नियमित रूपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने बताए ।

उनीहरुले नेपालमा बहुमतको स्थिर सरकार बनेकाले अब आर्थिक विकासमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई सल्लाह पनि दिए । स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भए विदेशी भूमिमा आउनु नपर्ने भन्दै उनीहरुले रोजगारीको अवसरहरु सिर्जना गर्न आग्रह गरे ।

प्रवासी नेपालीका प्रतिनिधि जुद्धबहादुर जिटीले प्रवासमा रहँदा नेपाली नागरिकले अनेकन हैरानी खेप्नु परेको, नेपालीको आफ्नो पहिचानसमेत नहुने अवस्था रहेको हुँदा स्वदेशमा नै फर्केर काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

प्रवासी नेपालीका अर्का प्रतिनिधि कृष्णप्रसाद भट्टराईले नेपाली जनताको सुख–दुःख देखेको र आफैँले अनुभव गरेको हिसाबले पनि प्रधानमन्त्री ओलीको कार्यकालमा नेपालले नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । उनले प्रवासी नेपालीले निकै दुःख, पीडा भोग्नुपरेको भन्दै यस पटक सुखद सन्देश प्रवाह हुन्छ भन्नेमा आफू आशावादी रहेको बताए ।

रोजगारीको खोजीमा बाजुराबाट नयाँ दिल्ली आइपुगेका केशव रेग्मी पनि आगामी दिनमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना हुने र विदेशमा आउनु नपर्ने आशामा छन् । नेताहरुले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मल्हम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने चाहना आफूहरुको रहेको उनले बताउ ।

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट हैरानी भोग्नु परेको, आपराधिक प्रवृत्तिका नागरिकले लुटपाट गर्ने गरेको र रोजगारीमा रहेका नेपालीले स्वदेशमा पैसा पठाउन समस्या भएको जस्ता गुनासो उनीहरूले प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।

समस्या समाधानको पहल गर्छुः ओली

प्रधानमन्त्री केपी ओलीले नेपाली समुदायले भारतमा भोग्नु परेको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पञ्चायतकालदेखि नै नेपाली समुदायको समस्याबारे आफू जानकार भएकाले समस्या समाधानका लागि पहल गर्ने बताए ।

आफू सद्भाव वृद्धि गर्न भारत भ्रमणमा आएको उल्लेख गर्दै ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अरू उच्च अधिकारी सँगको भेटमा पनि नेपालीको समस्या समाधानका लागि छलफल गर्ने बताए ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको र आर्थिक समृद्धिको युग शुरु भएकाले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्दै जाने सोचमा सरकार रहेको भन्दै उनले युवा शक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए ।

Advertisement

Advertisement

Advertisement