जनार्दन शर्माले ल्याएका कार्यक्रम र नारा उर्जामन्त्री पुनलाई मन परेन, नयाँ कार्यक्रम ल्याइने

Advertisement

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । सिंचाई दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले नेपालको पानी जनताको लगानी भन्ने नारा तय गरिए पनि जनतालाई जलविद्युतमा नजोडिएको बताए ।

पुनकै पार्टी माओवादी केन्दका नेता जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नेपालको पानी जनताको लगानी भन्ने नारा ल्याइएको थियो । पुनको अभिव्यक्तिले शर्मासँग उनको विमति र मनमुटाव रहेको संकेत गर्दछ । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले पूराना नारा र कार्यक्रमले यस क्षेत्रको विकास हुन नसक्ने बताए । त्यसका लागि छिट्टै नयाँ कार्यक्रम ल्याउने पुनले घोषणा गरे ।

मन्त्री पुनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन पनि दिए । उनले भने, ‘देशमा नयाँ व्यवस्था लागु भएको छ । यसलाई सफल बनाउने दायित्व तपाईं हामी सबैको हो । तपाईंहरुले इमान्दारितापूर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मुलुकको सुशासन कायम गरेर मात्र संवृद्धि आउने भएकाले कर्मचारीको कार्यशैलीमा परिवर्तन जरुरी रहेको पुनको भनाई छ ।

उर्जामन्त्री पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफूले जिम्मेवारी दिने बताए । उनले भने, ‘काम नगर्ने कर्मचारी निकट भएर केही हुन्न । मेरो नजिकको आफन्त भएपनि काम गर्दैन् भने त्यसको कुनै अर्थ छैन् । काम गरेर परिणाम दिने कर्मचारीलाई मैले कामको जिम्मा दिन्छु ।’

Advertisement

Advertisement

Advertisement