सिन्डिकेट कायमै राख्न यातायात व्यवसायीको आन्दोलनको धम्की

Advertisement

काठमाडौंः सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ।

महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ। बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए।

‘सरकारले यातायात व्यवसायीलाई बेवास्ता गरेर ल्याएको कार्यविधि नमान्ने निर्णय गरेका छौं,’ उनले भने, ‘परिषद्को बैठकले सरकारले कार्यविधि संशोधन नगरेसम्म चरणबद्धरुपमा आन्दोलनमा उत्रिने निर्णय गरेको छ।’

पहिलो चरणमा राजनीतिक दलसँग सल्लाह गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनले बताए। ‘सरकार कुन रुपमा उत्रिन्छ, सोही अनुसार नै आन्दोलनका कार्यक्रम तय गरिनेछ’, उनले थपे।

यातायात व्यवस्था विभागले यही चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर सार्वजनिक यातायात चलाउन कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

यातायात समिति संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका थिए। अब भने कम्पनी ऐन २०६३ अनुसार दर्ता हुनुपर्ने व्यवस्था भएको छ। अब कुनै व्यक्ति विशेषले सार्वजनिक सवारीसाधन चलाउन रुट इजाजत नपाउने समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement

Advertisement

Advertisement