सवारी साधनको चापसँगै राजधानीमा जथाभावी पार्किङ बढ्दो, दुर्घटनाको जोखिम उत्तिकै

Advertisement

काठमाडौंः राजधानीका सडक छेउमा गरिने जथाभावी पार्किङले सवारी आवागमनमा बाधा पुग्नुको साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ । यस्ले सवारी दुर्घटनालाई समेत बढाएको ट्राफिक प्रहरीहरुले बताउँदै आएका छन् ।

सवारी साधनहरुको आयात बढ्ने तर पार्किङको लागि पर्याप्त ठाउँको व्यवस्था नहुनु, चौडा सडकको अभाव, ट्राफिक नियमलाई पालना नगर्ने जस्ता प्रवृत्तिका कारण जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढेर गएको हो ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रदेखि धेरै व्यस्त रहने न्युरोड, बागबजार, डिल्लीबजार, पुतलीसडक, बानेश्वर, चावहिल, कालिमाटी जस्ता क्षेत्रमै गाडिहरु सडक किनर र पैदलमार्गमा पार्किङ गर्ने गरेको देखिएको छ ।

महानगरीय ट्राफिक प्रहरीले आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्ममा काठमाडौंका विभिन्न स्थानमा पार्किङ गरिएका चार हजार ८२८ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

साथै, प्रहरीले जथाभावी पार्किङ गर्ने पाँच हजार ५८८ मोटरसाइकललाई कारवाही गरिएको जनाएको छ । त्यस्तो कारवाहीमा ५५ लाख ८८ हजार जरिवाना अशुल गरिए पनि जथाभावी पार्किङ गर्ने प्रवृत्तिमा कमी आउन नसकेको महानगरीय ट्राफिक प्रहरीका एक सई राजेन्द्र देवकोटा बताउँछन ।

ट्राफिक प्रहरी प्रवक्ता उमेश रञ्जितकारले राज्यको सवारी नीति स्पष्ट नहुँदा अव्यवस्थित पार्किङ हुने गरेको बताए । सरकार र निजी क्षेत्रले सवारीको आयात मात्रै गर्ने तर पार्किङस्थलको व्यवस्थागर्न नसकेकाले जथाभावी पार्किङ हुने गरेको बताए ।

रत्नपार्कदेखि माकलबारीसम्म चल्ने निलो माइक्रोका चालक प्रभु कार्कीले सडकका छेउमा गरिएको अव्यवस्थित पार्किङले दुर्घटना निम्त्याउने भन्दै सडक छेउमा रोकिएका सवारी साधन जोगाउन खोज्दा अर्कोतिर दुर्घटना हुनसक्ने बताए ।

राजधानीमा फराकिला सडक र पर्याप्त पार्किङस्थलको अभाव हुँदा पनि सवारी साधनको आयातमा सरकारले कडाई गर्न सकेको छैन । अर्कोतर्फ व्यवसायीहरुले सवारी साधन अत्यावश्यक वस्तु भएकाले आयात रोक्न राम्रो नहुने भन्दै सरकारले सडक पूर्वाधार र पार्किङ बढाएर व्यवस्थित गर्नुपर्ने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement