दलबलसहित ओली माथिल्लो तामाकोशीमा, भारतीय ठेकेदारले गरे हाइड्रोमेकानिकलको काममा ढिलाई

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओली जम्बो टोली बोकेर निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थल अवलोकन गर्न पुगेका छन् । निर्माणकाृ अन्तिम चरणमा रहेको ४५६ मेगावाटको यस आयोजना अवलोकन गर्न ओली हेलिकप्टर चढेर बिहानै दोलखा पुगेका हुन ।

जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमेतलाई लिएर माथिल्लो तामाकोशी पुगेका ओलीले कामको प्रगतिबारे बुझेका थिए । ओली नेतृत्वको टोलीलाई माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले स्वागत गर्नुका साथै आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए ।

यस आयोजनाका सबै युनिटबाट २०७५ चैतसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । यसअघि नै सम्पन्न भइसक्नुपर्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भूकम्प र प्राविधिक तथा स्थानीयको समस्याका कारण अझै काम सकिएको छैन । सिभिल निर्माणको अधिकांश काम सकिए पनि इलेक्ट्रो मेकानिकलको काममा ढिलाई भइरहेको जनाइएको छ ।

भारतीय टेक्सम्याको रेल एन्ड इन्जिनियरिङको कारण हाइड्रमेकानिकलतर्फको काममा ढिलाई भएको जनाइएको छ । भ्रमणका क्रममा ओलीले आयोजना निर्माण ढिलाई नगर्न सल्लाह दिँदै कुनै समस्या भए समाधान गर्न सरकार तयार रहेको बताए ।

उनले आयोजनाको पहिलो युनिटबाट आउँदो पुसभित्र र बाँकी पाँच युनिटबाट आउँदो बैशाखसम्म विद्युत उत्पादन हुनुपर्ने बताए । लामोसाँघु–चरीकोट खण्ड सडक विस्तार क्रममा रहेकोले ठूला उपकरण ढुवानीमा समस्या रहेको भन्दै आयोजना प्रमुख श्रेष्ठले छिटो काम सम्पन्न गर्न आफूहरु लागिरहेको बताए ।

सुरुमा ३५ अर्ब २९ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म करिब ३७ अर्ब रुपियाँ खर्च भइसकेको र ४९ अर्ब भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement