बर्षमा सात अर्बको चिया खान्छ सरकार !

Advertisement

काठमाडौंः जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपियाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण चार खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा छ अर्ब ९४ करोड खर्च गरेको समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपियाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व दुई हजार १४७ रुपियाँ ३४ पैसाले बढेको छ ।

सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च
२ असार ०७१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान समिति गठन गरेको थियो । यस वर्ष आयोग र अन्तर्गतका समितिले विभिन्न पदाधिकारी एवं कर्मचारीको तलब भत्तामा चार करोड ७१ लाख, अन्य भत्तामा एक करोड २१ लाख र अनुगमन तथा भ्रमण, फर्निचरलगायतमा दुई करोड ३८ लाखसमेत आठ करोड ३० लाख खर्च गरेको छ । महालेखा भन्छ– उद्देश्यअनुरूपको कुनै कार्य गरेको नदेखिएकाले उक्त खर्च उपलब्धिविहीन भएको छ ।

कर्मचारी पेन्सनमा ३७ अर्ब, कुल बजेटको ४.४९ प्रतिशत
निवृत्त सरकारी कर्मचारीलाई पेन्सनबापत दिने रकम ०७१र७२ मा रु. २६ अर्ब १ करोड, ०७२/७३ मा ३४ अर्ब ९८ करोड र ०७३/७४ मा ३७ अर्ब १० करोड पुगेको छ । निवृत्तिभरण खर्च यस वर्षको सरकारको कुल खर्चको ४.४९ प्रतिशत र चालू खर्चको ७.१९ प्रतिशत छ ।

निवृत्तिभरण दायित्व बढ्दै गएको सन्दर्भमा योगदानमूलक निवृत्तिभरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यहोरा विगतदेखि औँल्याइएकोमा सरकारले बजेटमार्फत नीतिगत प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको टिप्पणी महालेखाको छ ।

बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो ।

स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुरसमेतको पाँच हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न १४ हजार ७२३ रुपियाँ दरले कुल आठ करोड २३ लाखको लागत अनुमान स्वीकृत भएको देखिन्छ । तर, कार्य सम्पन्न प्रतिवेदनमा चार हजार ९९९.९० वर्गफिटमा ३३ हजार ५३३ रुपियाँ ७१ पैसाका दरले ३१ किलोग्राम सुनमा १६ करोड ७७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

पुरातत्व विभागको ०७३र७४ को सुनको दर विश्लेषणअनुसार प्रतिवर्गफिट एक चौथाइ (१र४) तोला सुनको १६ हजार ४५८ रुपियाँ ६४ पैसाका दरले आठ करोड २३ लाखमा १४ किलो ५८० ग्राम खपत हुन सक्नेमा बढी खपत देखाइएको छ । यसमा ८ करोड ८८ लाख रुपियाँ भ्रष्टाचार भएको महालेखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement