प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि चिनी उद्योगीले दिन थाले उखु किसानको पैसा

Advertisement

काठमाडौंः किसानबाट खरिद गरेको उखुको मूल्य नदिने उद्योगीलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि भुक्तानी प्रक्रिया अघि बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उखु किसानलाई भुक्तानी नगर्ने उद्योगीलाई ‘ठगी’को आरोपमा कारबाही गर्न गृहलाई पत्राचार गरेलगतै गृहले प्रहरी परिचालन गरी चिनी उद्योगका कर्मचारी पक्राउ गरेको समाचार आजको नयाँ पत्रिकामा छ ।

सुनसरीको इस्टर्न सुगर मिलले किसानको करिब ४५ करोड रुपैयाँ भुक्तानी दिन ढिला गरेको भन्दै प्रहरीले सोमबार उद्योगका वित्त प्रबन्धक बृजमोहन गुप्तालाई पक्राउ गरेको हो । उनी पक्राउ परेपछि उद्योगले मंगलबारदेखि नै किसानलाई भुक्तानी दिन थालेको छ ।

किसानले रकम पाएको जानकारी आएपछि उनलाई मंगलबार नै छाडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

उद्योगले बुधबार सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै किसानलाई रकम दिन थालेको जानकारी गराएको थियो । सो उद्योगले यो मौसममा किसानबाट करिब ५५ करोड रुपैयाँको उखु खरिद गरेको थियो । त्यसमध्ये १० करोड मात्रै दिएर बाँकी ४५ करोड रुपैयाँ बाँकी राखेको थियो ।

राष्ट्रिय उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार अहिलेसम्म किसानको १० अर्ब रुपैयाँ उद्योगीले दिन बाँकी छ । ‘सरकारले उद्योगका कर्मचारीलाई पक्राउ गर्न थालेपछि उद्योगी डराएका छन् र किसानको पैसा बिस्तारै तिर्न थालेका छन्,’ उनले भने । त्यस्तै रौतहटको श्रीराम सुगरमिलले बुधबार जिल्ला प्रशासन कार्यालयलाई मंगलबारबाट नै भुक्तानी दिन सुरु गरेको पत्रमार्फत जानकारी गराएको छ ।

अन्नपूर्णले दिन थाल्यो
सर्लाहीको अन्नपूर्ण सुगर एन्ड जेनेरल इन्डस्ट्रिज प्रालिले किसानको उखुको मूल्य दिन थालेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार २३ चैतसम्म १६ करोड ६३ लाख ९७ हजार ६२ रुपैयाँ दिइसकेको छ । बुधबार मात्रै उद्योगले २५ लाख रुपैयाँ किसानलाई भुक्तानी दिएको उनले बताए । सो उद्योगले किसानको उखुको मूल्य दिन आनाकानी गरेको भन्दै उद्योगमन्त्री यादवले कारबाही गराउन गृह मन्त्रालयलाई २२ चैतमा पत्राचार गरेका थिए । सो उद्योगले चालू सिजनमा ६० करोड रुपैयाँबराबरको १२ लाख क्विन्टल उखु खरिद गरेको छ । गत वर्षको पनि करिब छ करोड रुपियाँ बक्यौता छ ।

उखु क्रसिङ सकियो
चिनी उद्योगहरुले किसानबाट उखु खरिद गरी क्रसिङसमेत टुंग्याएका छन् । यो वर्ष सुनसरीको इस्टर्न सुगर मिलले ११ लाख ६७ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । रौतहको श्रीराम सुगर मिलले ११ लाख क्विन्टल क्रसिङ गरेको छ । रिलायन्स सुगर मिलले २५ लाख क्विन्टल क्रसिङ गरेको छ भने करिब तीन लाख क्विन्टल क्रसिङ गर्न बाँकी छ ।

एभरेस्ट सुगर मिलले ४२ लाख क्विन्टल क्रसिङ गरेको छ । सर्लाहीको इन्दुशंकरले ४० लाख र अन्नपूर्ण सुगरमिलले १२ लाख क्विन्टल क्रसिङ गरेका छन् । सिरहाको हिमाल चिनी उद्योगले १२ लाख क्रसिङ गरेको छ । कञ्चनपुरका दुई उद्योग महाकाली चिनी उद्योग र भागेश्वरी चिनी उद्योगले क्रमशः १७ लाख र १३ लाख क्विन्टल क्रसिङ गरेका छन् । क्रसिङ सकिएपछि महाकाली सातादेखि बन्द अवस्थामा छ।

नवलपरासीका तीन उद्योग लुम्बिनी, बागमती र इन्दिरा चिनी उद्योगले क्रमशः सात लाख, आठ लाख र चार लाख क्रसिङ गरेका छन् । राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार अहिलेसम्म करिब पाँच लाख क्विन्टल मात्रै उखु क्रसिङ हुन बाँकी छ ।

‘रिलायन्स सुगर मिलले तीन लाख र अन्नपूर्ण सुगर मिलले दुई लाख क्विन्टल क्रसिङ गर्न बाँकी छ, बाँकी सबै उखु क्रसिङ भएर सकिएका छन्,’ उनले भने ।

किसानको नौ अर्ब बाँकी, एक अर्ब उठ्यो

चिनी उद्योगीले यो वर्ष किसानबाट करिब १० अर्ब रुपैयाँको उखु खरिद गरेका छन् । तर, अहिलेसम्म करिब १ अर्ब रुपैयाँ मात्र भुक्तानी थालेका छन् । उद्योग वाणिज्य आपूर्तिमन्त्री मातृका यादवले किसानको पैसा नदिने व्यवसायीलाई जेल हाल्ने चेतावनी दिएका थिए ।

त्यसपछि उद्योगीले २२ चैतबाट तालिका बनाएर किसानलाई रकम दिन थालेका हुन् । यद्यपि, श्रीराम र अन्नपूर्ण सुगर मिलले भुक्तानी दिन सुरु गरेको छैन । इस्टर्न सुगर मिलका कर्मचारीलाई २६ चैतमा जेल हालेपछि २७ चैतबाट भुक्तानी थालेको छ । कञ्चपुरका दुवै उद्योगले ५० प्रतिशत दिइसकेका छन् ।

बाँकी ५० प्रतिशत १५ जेठसम्म दिने लिखित सहमति गरेका छन् । ‘अन्य उद्योगले कहिलेसम्म किसानको रकम दिन्छन् भन्ने चिन्ता छ,’ राष्ट्रिय उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले भने ।

Advertisement

Advertisement

Advertisement