सरकारले सुरु गर्यो विद्यार्थी भर्ना अभियान

student_admission_by_kp_oli

काठमाडौंः सरकारले नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा मन्त्रालयले देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरेको हो ।

शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालका अनुसार भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थीलाई भर्ना गरेको बताए ।

united_cement

‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यसवर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको छ । उनले भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने बताए ।

सहसचिव अर्यालले प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको बताए । उनले भने, “अहिले हामी साना बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियानमा केन्द्रित भएका छौं । ती बालबालिकालाई भर्ना गरेपछि विद्यालय छाड्नेलाई भर्ना अभियान सञ्चालन गर्ने छौँ ।”

विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि नौ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा तीन लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । उनका अनुसार दुई हप्तासम्म विद्यालयमा भर्ना अभियान र त्यसपछि छिटफुट रुपमा रहेकालाई वैशाख मसान्तसम्म भर्ना अभियान सञ्चालन हुनेछ । सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गरेको थियो ।