काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता अधिकारको रक्षा गर्ने बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आइतबार उनले प्रचलित ऐन र कानूनका आधारमा अनुगमनलाई प्रभावकारी बनाइने बताए । आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा सशक्त बनाइने र त्यसभन्दा बाहिरको विषयमा सम्बन्धित मन्त्रालयलाई पत्र लेख्ने यादवले बताए ।
उनले भने, “शिक्षा र स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अनुगमनमा देखिएका कैफियतमा कारबाही गर्न आग्रह गर्नेछौँ ।” मन्त्री यादवले कसैसँग पनि पूर्वाग्रह नहुने बताउँदै थपे, “कसैप्रति पूर्वाग्रही हुँदैनौँ, दोषी नठरिएसम्म त्यसलाई कारबाही गर्दैनौं ।”
रिस उठेको भरमा चोर फटाहा भन्न मिल्दैन भन्दै उनले अनुगमनका क्रममा दोषी भेटिए सबै जनताले थाहा पाउने कारबाही गर्ने बताए । उनले ठूला व्यवसायीलाई निगरानीमा राखिने बताए ।
अनुगमन कार्य कहिल्यै पनि नरोकिने भन्दै यादवले अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय गर्न बजार अनुगमन निर्देशिकासहित ऐन कानूनलाई परिवर्तन गरेर अगाडि बढ्ने बताए ।
विगतमा अनुगमनका क्रममा थुप्रै समस्या तथा कमजोरी देखिएका कारण अनुगमन प्रभावकारी बन्न नसकेको भन्दै मन्त्री यादवले आगामी दिनमा जनताले राहत पाउने गरी अनुगमन गरिने बताए ।
यसअघि आजै उनले आपूर्ति व्यवस्थापन विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित सरकारी वकिलसँग छलफल गरेका थिए ।