कृषि अनुदानमा हुँदै आएको दुरुपयोग रोक्छुः कृषिमन्त्री

Advertisement

जितपुर, कपिलवस्तुः कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुँदै आएको दुरुपयोग रोक्ने बताएका छन् ।

मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइने बताए ।

कपिलवस्तुको हरनामपुरमा आइतबार आयोजित कार्यक्रममा उनले सिंहदरबारबाट निस्कने अनुदानको रकम बीचमै हराउने रोगको अब अन्त्य गरिने दाबी गरे ।

खनालले भने, “मेहनती किसानलाई राज्यले अनुदान दिन्छ, अब त्यो सिधै किसानको हातमा आउने संयन्त्र निर्माण गर्छौं । किसानको नाममा विगतमा भएका ब्रह्मलुटको अब अन्त्य भइसकेको छ । देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान बिर्सन सकिन्न ।”

उनले बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिनेसमेत जानकारी दिए । खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका आधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिनेसमेत जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement