विदेशी लगानीका १९४ उद्योग दर्ता

Advertisement

काठमाडौं: उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका एक सय ९४ उद्योग दर्ता भएका छन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले एक ९४ उद्योग दर्ता गरेको हो ।

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना एक सय ८० उद्योग दर्ता भएका हुन् । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् ।

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् । १० करोड रुपियाँभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोड रुपियाँदेखि २५ करोड लगानीसम्मका मझौला र २५ करोड रुपियाँभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १९४ उद्योगबाट ३४ अर्ब ९१ करोड सात लाख रुपियाँ बराबरको लगानी भित्र्याएको छ ।

विभागमा हालसम्म झण्डै सात हजार ५०० उद्योग दर्ता भएका छन् । विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए । उनले अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको बताए ।

Advertisement

Advertisement

Advertisement