चालकलाई कुटपिट गरेको विरोधमा पेट्रोलियम पर्दाथको ढुवानी ठप्प

Advertisement

वीरगञ्जः प्रहरीले ट्याङकर चालकलाई कुटपिट गरेको भन्दै त्यसको विरोधमा चालकहरुले पेट्रोलियम पर्दाथको ढुवानी बन्द गरेका छन् । ट्याङर चालक संघले आह्वान गरेको विरोधमा सोमबार बिहानदेखि चालकहरुले ढुवानी ठप्प पारेका हुन् ।

चालकहरुले वीरगञ्ज इनर्वा प्रहरी चौकीले ट्याङकर चालकलाई दुब्र्यवहार गर्दै कुटपिट गरेको आरोप लगाएका छन् । उनीहरुले चालकलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् । रक्सौल डिपोबाट वीरगञ्ज आउँदा पार्किङ गर्न लाग्दा प्रहरीले आफुलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको चालक सन्ताष प्रसाईले बताए ।

तर, पर्साका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजन लिम्बुले ट्याङर चालकले व्यस्त सडकमा गाडी घुमाएर सडक अवरुद्ध पारेपछि सामान्य विवाद भएको बताए । उनले चालकले व्यस्त सडकमा ट्याङकर घुमाएर पार्किङ गर्न खोजेपछि नियन्त्रणमा लिई सामान्य सोधपुछ गरेको बताए ।

नेपाल ट्याङक चालक संघका अध्यक्ष विनोद मानन्धरले घाइते चालकको उपाचार तथा कुटपिट गर्ने प्रहरीलाई कारवाही नभएसम्म आन्दोलन जारी रहने बताए ।

Advertisement

Advertisement

Advertisement