२०७४ उच्च पर्यटक भित्रिएको वर्ष, सन् १९९८ को लक्ष्य अहिले पुरा

Advertisement

काठमाडौंः हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे ।

यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक आएका थिए । सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

पूर्वाधारको कमीका साथै यही वर्ष सम्पन्न भएका तीन तहका (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभां) निर्वाचन तथा अस्थिर सरकार हुँदा पनि विदेशी पर्यटक बढेकाले सरोकारवाला निकायमा उत्साह पैदा गरेको उनको भनाइ छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले समग्रमा वर्ष २०७४ निकै उत्साह र उपलब्धिमूलक भएको बताए ।

विसं २०७४ मै निर्वाचनमार्फत स्थिर सरकार गठन भएको छ । यसले पर्यटन व्यवसायमा आशा जगाएको छ । यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१७’ काठमाडौँ सम्पन्न भयो । नेपाल पर्यटन बोर्डको सहयोगमा प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर)ले आयोजना गरेको मार्टमा ठूलो संख्यामा विदेशी पर्यटन व्यवसायीको सहभागिता थियो ।

समग्र पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि २०७४ मा आफ्नो प्रवद्र्धनात्मक अभियानलाई फरक शैलीमा तीव्रता दिनुले पनि पर्यटनमय वर्षका रुपमा स्थापित गरेको छ । बोर्डले २०७४ सालबाटै विद्युतीय बजार ‘डिजिटल मार्केटिङ’, शुरु गरेको छ भने मौसमकेन्द्रित पर्यटनलाई बाह्रै महिना बनाउनका लागि अभियान थालेको छ । वर्षा, जाडो र गर्मीलाई प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्ने योजनाअनुरुप अभियान चलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह पनि समग्रमा वर्ष २०७४ पर्यटनका लागि उत्साहवद्र्धक भएको स्वीकाछन् । उनका अनुसार पर्यटक आगमनको दृष्टिकोणलाई मात्रै विश्लेषण गर्दा पनि २०७४ साल पर्यटनमय बन्न पुगेको छ जुन पर्यटनका लागि निकै उत्साहपूर्ण छ ।

Advertisement

Advertisement

Advertisement