थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन

Advertisement

नवलपरासीः पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रमा व्यावसायिक रुपमा खरायोपालन शुरु गरिएको छ । यहाँका दुईजना युवाले अध्ययनसँगै खरायोपालन व्यवसायलाई अघि बढाएका हुन् ।

गैँडाकोट–९ थुम्सीमा ‘के एन्ड के ¥याविट फार्म एण्ड रिसर्च सेन्टर’ स्थापना गरेर स्थानीयवासी २२ वर्षीय विनय खनाल र गैँडाकोट–२ का २१ वर्षीय पुरुषोत्तम काफ्लेले खरायोपालन शुरु गरेका हुन् । दुवैजना नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा भेटनरी संकायमा अध्ययनरत छन् ।

“अध्ययन अनुसन्धानका लागि पोखराबाट खरायो ल्यायौँ,” सञ्चालक विनय खनालले भने, “१० वटा खरायोबाट शुरु गरिएकामा हाल ५० वटा रहेका छन् ।” अरुलाई पनि अध्ययन एवं अनुसन्धान गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अर्का सञ्चालक पुरुषोत्तम काफ्लेले खरायोको मासु स्वास्थ्यका लागि लाभदायक भएकाले माग बढ्दै गएपछि व्यावसायिक रुपमा खरायोपालन थालेको बताएका छन् । उनीहरुले अहिले खरायोको मासु बिक्री गर्न थालेका छन् । हाल फार्ममा न्यूजिल्याण्ड Þह्वाइट, क्यालिफोर्निया ह्वाइट, चिञ्चिला र नेपालमा पाइने स्थानीय प्रजातिका खरायो रहेका छन् ।

खरायोको मासुमा अन्य मासुका तुलनामा बोसोको मात्रा कम हुन्छ । विशेष गरेर मुटु रोगी, दम, मधुमेह, हाडजोर्नी तथा नशा अनि युरिक एसिडका बिरामीलाई खरायोको मासु लाभदायक हुन्छ । खनालका अनुसार खरायोको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुन्छ । भाले खरायो रु एक हजार ५०० र पोथीको रु दुई हजारमा बिक्री हुन्छ ।

गैँडाकोट नगरपालिकामा फार्म सञ्चालन गरिएको छ । भदौदेखि हालसम्ममा रु दुई लाखबराबरको आम्दानी भएको काफ्लले बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुवातमा रु ५० हजार लगानी गरी शुरु गरेका हौँ, अहिले करीब रु तीन लाख पुगिसकेको छ ।” दशवटा खरायो, आवश्यक दानासँगै खोर व्यवस्थापनमा रु ५० हजार लगानी गरे पुग्ने उनको भनाइ छ ।

बाह्रवटा खरायो राख्न सकिने आधुनिक खोरलाई रु ४२ हजार पर्छ । खनालले खोर पनि बिक्री गर्ने गरेको बताए । खरायो मूलतः शाकाहारी जनावर हो । करीब ५–६ महिनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । प्रजनन गराएको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्छ । भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महिनामा नै मासुका लागि योग्य हुने उनले बताएका छन् ।

उन्नत जातको खरायो, खरायोको मासु र आधुनिक खोर बिक्री गर्नुका साथै खरायोपालनसम्बन्धी प्रविधि, तालीम तथा परामर्श सेवा प्रदान गरिँदै आएको सञ्चालक खनालले बताए । “खरायोलाई प्यालेट दाना र दुबो, जइ घाँस, बाँस, बन्दालगायत सागसब्जी, गाजर, मूला दिन सकिन्छ,” उनले भने । बजारीकरणमा समस्या छैन ।

एउटा खरायोले वर्षमा छ पटकसम्म बच्चा जन्माउँछ । एकपटकमा सरदर चारदेखि १२ वटासम्म बच्चा जन्माउँछ । पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँमा खरायोको मासु बढी खपत हुने गरेको छ । मासिक रु २५ हजारसम्म आम्दानी हुने गरेको खनाले बताए ।

Advertisement

Advertisement

Advertisement