प्रधानमन्त्रीको भ्रमण मिलाउन परराष्ट्रमन्त्री लागे चीनतिर, बुढीगण्डकी तत्काल चीनलाई नदिइने

Advertisement

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भने ।

सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै ज्ञवालीले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताए ।

प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उनले जिकिर गरे । प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको ज्ञवालीले बताए ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा सरकारले तत्काल कुनै निर्णय नगर्ने बताए । यसअघि चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएकोमा विवाद भएपछि फिर्ता भएकोमा फेरि चीनमा दिने सरकारको तत्काल तयारी नरहेको ज्ञवालीले बताए । यस पटकको चीन भ्रमणमा बुढीगण्डकीको एजेण्डा नरहेको भन्दै उनले पूर्ववर्ती सरकारले गरेका बुढीगण्डकीसहित अन्य निर्णयहरुलाई सरकारले समीक्षा गरिरहेको बताए ।

परराष्ट्रमन्त्री चीन जाँदै
मन्त्री ज्ञवाली सोमबार नै छिमेकी चीनको भ्रमणमा निस्किएका छन् । चीनले उनले विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटघाट गर्ने र बेइजिङमा नेताहरुसँग पनि भेटघाटको कार्यक्रम रहेको उनले बताए । ज्ञवालीले चीन भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताए ।

उनका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । ज्ञवाली आगामी शनिबार स्वदेश फर्किने छन् ।

Advertisement

Advertisement

Advertisement