प्रदेश २ लाई लगानीमैत्री प्रदेश बनाउन नीति निर्माणको तयारी

Advertisement

जनकपुरधामः प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिनिर्माणको गृहकार्य गरिएको जनाइएको रहेको छ ।

लगानी बोर्डले सोमबार आयोजित प्रदेशमा ‘लगानीका सभाव्य क्षेत्र’ विषयको अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश नं २ मा उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, कृषि, रेल्वेलगायत क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र हुन सक्ने बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको कानूनी जटिलताको प्रष्टता र ऐनकानूनको निर्माणको आवश्यकतामा जोड दिँदै उनीहरूले प्रदेशमा साधनस्रोत र अवसर पर्याप्त रहेकाले संघीय सरकारल द्विविधाजनक मानसिकता त्याग्नु जरूरी छ भने ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले वैकल्पिक ऊर्जा, सिँचाइ, फोहरमैला व्यवस्थापन र कृषिको आधुनिकीकरण गर्ने विषय पनि लगानीकर्ताका लागि आकर्षणका क्षेत्र हुन सक्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशलाई लगानीमैत्री बनाउने कानून निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । भूमि व्यवस्था सहकारीमन्त्री शैलेन्द्र साहले उर्वर भूमि, भौगोलिक सुगमता र अन्तर्राष्ट्रिय व्यापारका हिसाबले प्रदेश महत्वपूर्ण रहेको जानकारी गराए ।

प्रदेश मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशलाई लगानीमैत्री बनाउने नीतिअनुरूप सरकारले प्रदेश लगानी बोर्ड स्थापना गर्ने अवधारणा लिएको बताए । बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले प्रदेश नंं २ मा वीरगञ्ज–काठमाडौं रोपवे सेवा, पूर्वपश्चिम रेल सेवा, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि मल कारखाना सम्भाव्य लगानी क्षेत्रमा रहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement