नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेश तयार, आयोजना दिन नेपाललाई आग्रह

Advertisement

काठमाडौंः नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न वङगलादेश तयार रहेको बताएकी छन् । सोमबार उर्जामन्त्री बर्षमान पुनसँग भएको भेटमा राजदूत साम्सले त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताइन ।

उनले भनिन, ‘सरकार मात्र होइन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्युतमा लगानी गर्न तयार छ, तर तपाईंहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’ जवाफमा मन्त्री पुनले ठूला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने बताए ।

उनले बङगलादेशी समकक्षी एवं त्यहाँका उर्जामन्त्रीको नेपाल भ्रमणको प्रक्रिया अघि बढाउन पनि आग्रह गरे । साम्सले बंगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन इच्छुक रहेको बताइन । उनले सन् २०२१ सम्म बङगलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै नेपालको लागी बङ्गलादेश वैकल्पिक बजार हुनसक्ने बताइन ।

राजदूत साम्सले उर्जा क्षेत्रमा नेपाल भारत र बङ्गलादेशबीच सहकार्य जरुरी रहेको बताइन । उनले भनिन्, ‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागी आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ ।’

सिंहदरबारमा भएको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसँग नेपाल सहकार्य गर्न तयार रहेको बताए । उनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको समेत बताए । पुनले उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement