सेयर बजारले उचाई लिन थाल्यो, नेप्से ३३ अंकले बढ्दा झण्डै एक अर्बको कारोबार

Advertisement

काठमाडौंः लामो समयदेखि ओरालो गतिमा रहेको सेयर बजारमा सुधार तीब्र गतिले हुन थालेको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से ३३ दशमलव ६१ अंकले बढेको छ भने सेयर किनबेच ९५ करोड रुपियाँभन्दा बढि भएको छ ।

केही दिनदेखि सुधारतर्फ लम्किएको बजारमा आजै दुई दशमलव ५९ प्रतिशतले वृद्धि हुँदा लगानीकर्ताले निकै राहत महशुस गरेका छन् । बैंकहरुको व्याजदरमा भएको वृद्धि, वामअर्थतन्त्रप्रति लगानीकर्ताहरुको आशंका, अर्थमन्त्रीका विवादास्पद टिप्पणी, बजारमा तरलताको अभावका साथै सेयर बजारमा माग र आपूर्तिमा सन्तुलन हुन नसक्नु, बजारमा देखिएको अन्यौल र गलत प्रचार जस्ता कुराहरुले सेयर बजारमा लामो समयमा सुधार आउन नसकेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

आजको कारोबारमा व्यापारबाहेक सबै समूहमा उत्साहजनक सुधार आयो । सबैभन्दा बढि लघुवित्त समूहको उपसुचक सात दशमलव ६९ प्रतिशतले बढ्यो भने त्यसपछि क्रमसः बीमा समूहको उपसुचक पाँच दशमलव ५१ प्रतिशतले, होटल समूहको चार दशमलव ४५ प्रतिशतले, अन्य समूहको तीन दशमलव ०६ प्रतिशतले बढ्यो ।

त्यस्तै, उत्पादनमूलक, जलविद्युत र विकास बैंक समूहको सुधार दुई प्रतिशतभन्दा बढिले छ भने बाणिज्य बैंकको सुधार एक दशमलव ०७ प्रतिशत छ । आज सबैभन्दा बढि सूर्या लाइफ इन्स्योरेन्सको सेयर झण्डै छ करोडको किनबेच भयो ।

Advertisement

Advertisement

Advertisement