चिनियाँ विमान निगमलाई हस्तान्तरण

Advertisement

काठमाडौंः चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे ।

कलसाइन (एन–एकेयू/एन–एकेभी) विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।

विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ ।

हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमानचालक (पाइलट) अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् ।

Advertisement

Advertisement

Advertisement