एनआरएनए थाइल्याण्डको पहलमा स्थापित छात्रवृत्ति भूकम्प प्रभावित क्षेत्रमा वितरण गरिँदै

Advertisement

काठमाडौंः गैर–आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको पहलमा करिव एक बर्षअघि स्थापना गरिएको नागरिक छात्रवृत्ति कोष मेगा बैंकसँगको साझेदारीमा यही वैशाखबाट कार्यान्वयन गरिने भएको छ ।

यस छात्रवृत्तिबाट २०७२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीहरू लाभान्वित हुने अभियानले जनाएको छ । यसा छात्राहरूको सङ्ख्या कम्तिमा ५० प्रतिशत हुने अभियानका संयोजक खगेन्द्र ढकालले जानकारी दिए ।

नागरिक अभियानका अनुसार यस वर्ष गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यमिक विद्यालय, जौबारी तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभूमे माध्यमिक विद्यालय, बाब्रे र कालिनाग माध्यमिक विद्यालय, सुनखानीका ४० जना पिछडिएका विद्यार्थीहरूलाई (प्रत्येक विद्यालयबाट १० जना गरी) उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।

सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा अध्ययनरत पिछडिएका समुदाय, भूकम्प वा द्वन्द्व प्रभावित, अपाङ्गता भएका, गरिबीको रेखामुनि रहेका, अनाथ वा एकल अभिभावक भएका लगायतका आधारहरूमा छात्रवृत्ति निर्धारण गरिएको जनाइएको छ ।

शैक्षिक सत्र २०७५ मा कक्षा ९ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरी आरम्भ गरिने सो छात्रवृत्ति विद्यार्थीहरूले कक्षा १२ सम्म पाउनेछन् । विद्यार्थीको विद्यालय पोशाक, जुत्ता, खाजा, स्टेसनरी सामग्री र ब्यागका लागि निर्धारण गरिएको छात्रवृत्तिवापत प्रतिविद्यार्थी प्रतिशैक्षिक सत्र १४ हजार पाँचसयसहित ब्याग र केही स्टेसनरी सामग्री प्राप्त हुनेछ ।

गोरखा भूकम्पबाट भएको जनधनको क्षति, गरिबी, शैक्षिक सामग्री, पोशाक, जुत्ता, ब्याग, दिवा खाजा आदिको उचित व्यवस्था गर्न नसक्दा शिक्षा क्षेत्र बढी प्रभावित भएको, सिकाइ उपलब्धिमूलक नभएकोले जोखिममा परेका, पिछडिएको क्षेत्रका विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि टेवा पुर्याउने उद्देश्यले यो छात्रवृत्ति सञ्चालन गरिएको ढकालले बताए ।
गैर–आवासीय नेपाली संघ थाइल्याण्ड पूर्वअध्यक्षसमेत रहेका ढकालको नेतृत्वमा स्थापना गरिएको ३५ लाख ८९ हजार ९९९ रुपियाँको अक्षय कोषबाट यो छात्रवृत्ति प्रदान गरिने छ । अक्षय कोषमा मेगा बैङ्कले कम्तिमा पाँच वर्ष वार्षिक तीन लाख अनुदान प्रदान गर्ने सम्झौता समेत गरेको छ ।

गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आशाजित अवालेले कोषका लागि रकम बैङ्ककमा नेपाल मेला २०१५, ‘एभरेष्ट बेस–क्याम्प’ नामक किताबको रोयल्टी लगायत विभिन्न कार्यक्रममार्पmत् सङ्कलन गरिएको रकम राखिएको बताए ।

नागरिक अभियानले छात्रवृत्तिका लागि शिक्षाविद् हेमन्तराज दाहालको संयोजकत्वमा नागरिक छात्रवृत्ति समिति पनि गठन गरेको छ । नागरिक छात्रवृत्ति आगामी वैशाख ६ गतेमा गोरखा र वैशाख १० गते दोलखामा वितरण गरिने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement