चर्को शुल्क वृद्धि गरेका निजी विद्यालयहरुलाई विद्यार्थी संगठनले भने– के हामीलाई हेपेको हो ?

Advertisement

काठमाडौंः संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले लिएको चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने दावी गरेका छन् । हरेक बर्ष विद्यार्थी संगठनहरुको चेतावनी हुँदाहुँदै पनि शुल्क वृद्धि गर्न नछोडेका निजी विद्यालयलाई यस बर्ष पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका हुन ।

बुधबार रिपोर्टर्स क्लबमा संयुक्त विद्यार्थी संगठनले ‘निजी विद्यालयको चर्को शूल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ नामक अन्तरक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिदेखि सरकारी अधिकारीहरुले आन्दोलन र कारवाहीको कुरा गरेका हुन ।

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही पनि नभएको भन्दै सबै निजी विद्यालय गलत तर्क गरे । उनले जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन हुनुपर्ने भन्दै कारवाही गरिने स्पष्ट भनाई राख्न सकेनन् । यस बर्ष साना ठूला सबै निजी विद्यालयहरुले सतप्रतिशतसम्म शुल्क वृद्धि गरेका छन् ।

अर्यालले सरकारले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति जसले पाउनुपर्ने हो उसले नपाएकोमा आफैले गुनासो पोखे । उनले थपे, ‘छात्रवृत्तिलाई नियमित गर्नुुपर्छ ।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आधारभूत र माध्यामिक तहको शैक्षिक प्रणालीमै ठूलो मतभिन्नता रहेको गुनासो पोखे । उनले भने, ‘यो डरलाग्दो अवस्था छ । यो भिन्नता कम जर्न जरुरी छ ।’

प्यावसन र एन–प्यावसनले शुल्क वृद्धि छैन भनेर गलत कुरा बोलेको तामाङको आरोप छ । उनले भने, ‘निजी विद्यालयका सञ्चालकहरुले महंगीअनुसार चलेको भनेर भन्नुभएको छ, त्यो कुुरा नाटक हो, हामी घाटामा छौं, समस्यामा छौं भनेर नाटक नगर्नुहोस् । हामीले पनि देखेका छौं, कुन स्कुल कति घाटामा छ, कति नाफामा छ भनेर ।’

शुल्क वृद्धि नघटाए ती प्रत्येक स्कुल अगाडि अभिभावक राखेर सार्वजनिक सुनुवाई गर्ने तामाङले चेतावनी दिए । उनले थपे, ‘नेपाल संसारको दोस्रो ठूलो गरिब देश हो, तपाईहरु पनि त्यही अनुसार चल्नुहोस् । मनोमानी ढंगले अघि बढे सैह्यै हुँदैन, हामी अहिले पनि आन्दोलित छौं ।’

प्यावसन र एनप्यावसनले बनावटी जवाफ दिएर पन्छिन नपाउने तामाङको चेतावनी थियो । उनले भने, ‘नेपालको नियम र कानूनअनुसार चल्नुपर्छ, होइन भने तपाईहरु चन्द्रमामा गएर खोल्नुहोस्, मंगल ग्रहमा गएर खोल्नुहोस् वा विदेशमा गएर खोल्नुहोस्, हामीलई आपत्ति छैन, यदि नेपालमा खोल्ने हो भने यहाँको नियम र कानून मान्नुपर्छ ।’
निर्देशिकाकार्यान्वयनगर्ने र शुल्कवृद्धि फिर्तागर्ने भनेर भनिएको एक वर्ष बितिसक्यो तर अहिलेसम्मती कुराहरु कार्यान्वयननभएकोमाउनले आक्रोश पोखे । उनले भने, ‘यदि यस्तै अटेरी गर्ने हो भने हामी तालाबन्दी गर्न बाध्य हुन्छौं ।’

प्यावसनका अध्यक्ष विजय सम्वाहाम्फेले शिक्षाको मापदण्ड बनाउनुपर्ने तर्क अघि सारे । उनले सरकारी तथा निजी दुवै विद्यालयको पढाईको मापदण्ड एकै किसिमको बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदेव देवकोटाले प्राथमिक शिक्षा पाँच कक्षासम्म निःशुल्क हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निजीको पढाउने तरिका सामूदायिक विद्यालयमा पनि हुनुपर्यो । सबै नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।’

देवकोटाले स्थानीय निकायले आफ्नै कानून बनाएको बताउँदै यसले पनि अलिकति भद्रगोल बनाएको गुनासो पोखे । ‘यसमा पहिले क्लियर हुनुपर्यो ।’ –उनले थपे ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले देशमा लोकतन्त्र, गणतन्त्र आएको र, राजनीतिक व्यवस्थामा पनि परिवर्तन आएको तर शिक्षा क्षेत्रमा लोकतन्त्र नआएको आरोप लगाए ।

निजी विद्यालय निर्देशिका र कानूनअनुसार किन चल्दैनन् ? भन्दै उनले प्रश्न समेत तेर्साए । बर्तौलाले अघि थपे, ‘निजी विद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने ? म यही मञ्चबाट सोध्न चाहन्छु ।’

उनले निजी विद्यालयहरुले मनोमानी ढंगले शैक्षिक शुल्क तोकिएको, शिक्षा क्षेत्रमा आतंक मच्चाइएको आरोप लगाए । बर्तौलाले थपे, ‘एक क्लासमा पनि एक लाख शुल्क लिइएको छ, यस्था ठाउँमा निरीक्षण गर्नुपर्छ । हामी चुप लागेर बस्दैनौं, शुल्क वृद्धि घटाउनुपर्छ ।’

एनप्यावसनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयहरु पनि क, ख, ग श्रेणीमा बाँडिएको उल्लेख गर्दै विशिष्ट श्रेणीमा रहेका विद्यालयहरुले चर्को मूल्य लिएकोले त्यस विषयमा गम्भीर बन्न आग्रह गरे ।

आफूहरुमाथि अकुत सम्पत्ति कमाएको भनेर लगाइएको आरोपलाई न्यौपानले खण्डन गरे ।

नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले निजी विद्यालयहरुमा चर्को शुल्क वृद्धि भएकोप्रति कडा आपत्ति जनाउँदै शुल्क वृद्धि नघटाएसम्म आन्दोलन नरोकिने बताए ।

उनले भने, ‘हामी त आन्दोलित छौं । हामी विगतमा पनि आन्दोलित थियौं । शिक्षालाई संविधानले पनि मौलिक हकमा राखेको छ, मनलाग्दी गर्न पाईंदैन् । निजी विद्यालयहरुले आफ्नो कुर्तत फिर्ता नगरेसम्म हदैसम्मको चर्को आन्दोलन गर्ने भन्दै शाहीले आफूहरुले कहिल्यै पनि कसैसँग सम्झौता नगर्ने बताए ।

Advertisement

Advertisement

Advertisement