मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काम तीव्ररुपमा

Advertisement

वीरगञ्जः मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम जमिनमुनि पाइप बिच्छ्याउने काम शुरु भएको छ ।

चैतको अन्तिमसाता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्तरुपमा शिलान्याश गरेपछि यो कामले तीव्रता पाएको हो ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोड रुपियाँको लागतमा भइरहेको छ । यसमा भारत सरकारको दुई अर्ब रुपियाँ र नेपाल सरकारको ७५ करोड रुपियाँ लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

नेपालको ३६ दशमलव २ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ । भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । नेपालतर्फ बारा जिल्लाको सिमरामा करिब ५०० मिटर जतिमा खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको सो कार्यालयका मेकानिकल इन्जिनियर शरदप्रसाद पौड्यालले जानकारी दिए ।

अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको छ । वर्षाले बाधा नगरे एक वर्षभित्र पाइप जमिनमुनि बिच्छ्याउने काम सम्पन्न हुने बताइन्छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन भित्रिने छ । पहिलो चरणमा पाइपमार्फत डिजेल ल्याउने र अमलेखगन्जस्थित आयल निगमको डिपोमा भण्डारण गर्ने योजना छ ।

बहुप्रतीक्षित मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको काम सम्पन्न भएपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने सवारी चाप पनि हटेर जाने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement