मिटरमा हिँड्न नमान्ने चार हजार ट्याक्सी कारबाहीमा

Advertisement

काठमाडौंः ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाहीमा तिब्रता दिएको छ । मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमन गर्दै महाशाखाले कारबाहिलाई तीव्रता दिएको हो ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिएको बताएको छ । ट्राफिक प्रहरीका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए ।

उनले पहिले दैनिक १५\२० ट्याक्सी कारबाही गरिए पनि अहिले कारबाहीमा पर्ने ट्याक्सी बढेको जानकारी दिए । मरासिनीले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्न आग्रह गरे ।

नियम मिच्ने ट्याक्सीलाई महाशाखाले तीन हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म जरिवाना गर्ने गरेको छ । मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement